तस्करी प्रकरणमा मधेशका डीआईजी थपलियाको खुल्यो पोल, जयलालसँग पुरानै कनेक्सन ?
सर्वसाधारणका लागि सीमित मूल्यभन्दा बढी सामान भन्सारबिना ल्याउन नपाइने सरकारी व्यवस्था रहे पनि तस्कर समूह भने निर्बाध सक्रिय रहनुले सीमा क्षेत्रमा राज्य संयन्त्रकै संरक्षण रहेको आशंका बलियो बनेको छ ।

२०८३ बैशाख ८ मंगलबार, बिहान ८:२१ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सीमावर्ती नाकामा हुने तस्करी र प्रहरीबीचको मिलेमतोसम्बन्धी मोबाइल संवादहरू सार्वजनिक हुन थालेसँगै मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । धनुषामा तस्कर र प्रहरीबीच आर्थिक लेनदेन मिलाउने विषयमा भएको संवाद बाहिरिएपछि घटनाले थप राजनीतिक र प्रशासनिक तरंग पैदा गरेको हो ।
सार्वजनिक संवादमा तस्कर राजीव महासेठले डीआईजी थपलियाको नाम प्रयोग गर्दै व्यापारीहरूसँग रकम असुली गरेको तथा उक्त रकम माथिल्लो तहबाट तोकिएका प्रहरी कर्मचारीसम्म पुग्ने गरेको संकेत देखिएको स्रोतहरूको दाबी छ । यसले सीमा क्षेत्रमा लामो समयदेखि चल्दै आएको तस्करी सञ्जालमा उच्च तहको अप्रत्यक्ष संरक्षण रहेको आशंकालाई बल दिएको छ ।
घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बन गरिएको छ । प्रारम्भिक कारबाहीका रूपमा उनलाई जिम्मेवारीबाट हटाइएको भए पनि संवादमा उच्च तहको नाम जोडिँदा पनि कारबाही किन तल्लो तहका कर्मचारीमै सीमित गरिएको भन्ने प्रश्न उठेको छ ।
स्थानीय सरोकारवालाहरूले प्रहरी संगठनभित्र पुरानै प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार विवाद बाहिरिएपछि कनिष्ठ वा मध्यम तहका कर्मचारीलाई तत्काल कारबाही गर्ने, तर उच्च पदस्थ अधिकारीमाथि छानबिन नै अघि नबढाउने अभ्यासले संगठनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
वरिष्ठ सई राणाले भने आफूलाई बलिको बोका बनाइएको दाबी गरेका छन् । सार्वजनिक भएको फोन संवादले आफूले माथिल्लो तहको दबाबबाट जोगिन व्यापारीसँग सम्पर्क गरेको संकेत दिने उनको भनाइ छ । यसले घटनाको जरो तल्लो तहभन्दा माथिल्लो संरचनासम्म फैलिएको हुन सक्ने अनुमानलाई थप बल पुर्याएको छ ।
प्रहरी स्रोतहरूका अनुसार धनुषाको इनर्वा नाकाबाट दैनिक ठूलो परिमाणमा अवैध सामान ओसारपसार हुने गरेको छ । तस्कर महासेठको सञ्जालमार्फत दैनिक दर्जनौं मोटरसाइकल प्रयोग गरी भारत–नेपालबीच सामान तस्करी हुने गरेको आरोप छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…