नेपाल रेल्वे कम्पनीमाथि करिब ८० करोडको कर्जा, आम्दानीभन्दा खर्च बढी
दीर्घकालीन रूपमा महाप्रबन्धक पद रिक्त रहनु, स्थायी प्राविधिक जनशक्ति अभाव, वर्कसपको कमी, स्वदेशी चालक र स्टेशन मास्टरको अभाव तथा फ्युलिङ स्टेसन नहुनुजस्ता समस्याले सञ्चालन खर्च थप बढाएको कम्पनीले जनाएको छ । इन्धनसमेत भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

२०८३ बैशाख ७ सोमबार, बिहान ८:०४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको एक मात्र रेल सेवा सञ्चालन गर्दै आएको नेपाल रेल्वे कम्पनी लिमिटेड निरन्तर घाटामा गएको तथ्यांकले देखाएको छ । आम्दानीको तुलनामा खर्च अत्यधिक बढ्दै जाँदा कम्पनी आर्थिक रूपमा दबाबमा परेको छ भने दीर्घकालीन स्थायित्वमै प्रश्न उठ्न थालेको छ ।
तत्कालीन महाप्रबन्धक निरञ्जन झाका अनुसार हाल मासिक करिब ७५ लाख रुपैयाँ आम्दानी हुँदा खर्च भने १ करोड २९ लाख रुपैयाँ पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनी सरकारले दिएको जमानीमा ऋण लिएर सञ्चालनमा रहेको छ । उनका अनुसार २०८१ असार मसान्तसम्म कम्पनीको कुल ऋण साँवा–ब्याजसहित ७९ करोड रुपैयाँ नाघिसकेको छ ।
कम्पनीको व्यावसायिक कार्ययोजना २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख रुपैयाँ खर्च भएको देखिन्छ । यसले कम्पनीको खर्च संरचना अत्यन्त असन्तुलित रहेको संकेत गर्छ ।
हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक चल्ने गरेको छ । यात्रु सेवा प्रभावकारी भए पनि आर्थिक हिसाबले भने घाटा बढ्दो छ । यसको मुख्य कारणमध्ये भारतीय प्राविधिक जनशक्तिमा हुने उच्च खर्चलाई लिइएको छ । कम्पनीले १७ जना भारतीय कर्मचारीका लागि भारतीय कोंकन कम्पनीलाई मासिक करिब १ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्दै आएको छ । यसको तुलनामा नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब मात्र १७ लाख रुपैयाँ छ ।
दीर्घकालीन रूपमा महाप्रबन्धक पद रिक्त रहनु, स्थायी प्राविधिक जनशक्ति अभाव, वर्कसपको कमी, स्वदेशी चालक र स्टेशन मास्टरको अभाव तथा फ्युलिङ स्टेसन नहुनुजस्ता समस्याले सञ्चालन खर्च थप बढाएको कम्पनीले जनाएको छ । इन्धनसमेत भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
पछिल्लो पाँच वर्षको तथ्यांकले आम्दानीभन्दा खर्च करिब तीन गुणा बढी रहेको देखाउँछ । यसले रेल सेवा आर्थिक संकटतर्फ उन्मुख रहेको सरोकारवालाको भनाइ छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…