ओली पक्राउको विरुद्धमा एमालेले गरे यी ९ बुँदे आन्दोलनको घोषणा
यस्तै, संसदभित्र अन्य दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइएको छ। संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्नेछ।

२०८२ चैत १७ मंगलबार, दिउँसो ४:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को ‘प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी’ विरुद्ध भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको भन्दै त्यसको घोर भर्त्सना गरेको छ।
पार्टीको सचिवालय बैठकले उक्त घटनाप्रति आपत्ति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले देशव्यापी चरणबद्ध कार्यक्रम घोषणा गरेको हो।
बैठकले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला आयोजना गर्ने निर्णय गरेको छ। त्यसपछि चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गरिने जनाइएको छ। त्यस्तै, वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते संघीय राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
एमालेले विद्यार्थी तथा पेशागत संगठनहरूसँग सम्बन्धित सरकारका गतिविधिहरूलाई समेत आन्दोलनको एजेन्डामा समेट्ने निर्णय गरेको छ। पार्टीले सबै जनसंगठनहरूलाई आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै केन्द्रले घोषणा गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै, जनसंगठन संयन्त्रको बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने जानकारी दिइएको छ।
सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी तोकिएको छ।
यस्तै, संसदभित्र अन्य दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइएको छ। संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्नेछ।
यसैबीच, आन्दोलनका थप कार्यक्रम तय गर्न पार्टीले छिट्टै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…