रौतहटमा दलित टोलमा यादव परिवारको आक्रमण, प्रहरीमाथि पीडितलाई नै अन्याय गरेको आरोप
यता इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले घटनाबारे छानबिन भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले पनि निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

२०८२ फागुन २६ मंगलबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा दुई महिलासहित ६ जनामाथि सामूहिक कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनामा घाइते भएका पीडितहरूले प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा आफूहरूलाई नै अन्याय गरेको आरोप लगाएका छन्।
पीडित बिर्जा राम चमारका अनुसार फागुन १९ गते साँझ करिब ६ बजे स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादवसहितको समूह लाठी–भाटा लिएर घरमै पसेर कुटपिट गरेको थियो। आक्रमणमा बिर्जा राम, उनकी श्रीमती गायत्री देवी राम, छोरा राजकुमार रामसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउकोमा टाँका लगाइएको छ भने शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
घटनापछि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा बिर्जा राम र उनका छोरालाई नै पक्राउ गरी थुनामा राखेको पीडितको आरोप छ। स्थानीयको पहलपछि मात्र उनीहरू रिहा भएका थिए। पीडित पक्षले एक सातासम्म पनि जाहेरी दर्ता नगरिएको भन्दै पत्रकार सम्मेलनमार्फत न्यायको माग गरेका छन्।
यता इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले घटनाबारे छानबिन भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले पनि निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…