जनकपुरधाममा माघ २५ देखि एचपीभी खोप अभियान सञ्चालन
बैठकमा प्रशासन शाखा प्रमुख जयकुमार साह, स्वास्थ्य शाखा प्रमुख विजय साहसहित उपमहानगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुख, वडास्तरीय स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

२०८२ माघ २३ शुक्रबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी HPV खोप अभियान सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाका अनुसार माघ २५ गतेदेखि फागुन १० गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।
बुधबार उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न बैठकले सो अवधिमा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकमा एचपीभी खोप अभियानको कार्ययोजना, लक्षित समूह र खोप केन्द्रबारे छलफल गरिएको थियो।
अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका सबै २५ वटै वडामा रहेका विद्यालय तथा प्रत्येक वडामा तोकिएका वडाखोप केन्द्रहरूबाट खोप सेवा उपलब्ध गराइने जनाइएको छ। खोप कार्यक्रममार्फत कक्षा ६ मा अध्ययनरत बालिकाहरू, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकाहरू तथा गत वर्षको खोप अभियानमा छुट भएका ११ देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई निःशुल्क रूपमा एचपीभी खोप प्रदान गरिनेछ।
कार्यक्रममा बोल्दै नगर प्रमुख साहले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट भविष्यका छोरीहरूलाई सुरक्षित राख्न एचपीभी खोप अत्यन्त प्रभावकारी भएको उल्लेख गरे। उनले लक्षित सबै बालिकाहरूलाई खोप सुनिश्चित गर्न अभिभावक, विद्यालय र सरोकारवालाहरूलाई सहकार्य गर्न आग्रह गरे।
बैठकमा सहभागी स्वास्थ्य विज्ञहरूले एचपीभी भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले यसबाट बच्न खोप अनिवार्य रहेको बताए। उनीहरूका अनुसार कम उमेरमै विवाह गर्ने, कम उमेरमै बच्चा जन्माउने, धेरै तथा छोटो अन्तरालमा बच्चा जन्माउने, असुरक्षित यौन सम्पर्क, धेरै जनासँग यौन सम्बन्ध, धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिँदा एचपीभी संक्रमणको जोखिम बढ्ने गर्दछ।
बैठकमा प्रशासन शाखा प्रमुख जयकुमार साह, स्वास्थ्य शाखा प्रमुख विजय साहसहित उपमहानगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुख, वडास्तरीय स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…