न्यूज ब्यूरो, धनुषाधाम (धनुषा) । जंगली हात्ती बस्तीमा पसेपछि धनुषाधाम नगरपालिकामा त्रास फैलिएको छ। गएराति करिब ११ बजेतिर धनुषाधाम नगरपालिका–६ हरिपुरस्थित बस्तीमा प्रवेश गरेका जंगली हात्तीले तीनवटा घरमा क्षति पुर्याएका छन्।
प्रहरीका अनुसार हात्तीको आक्रमणबाट स्थानीय सुकुमाया मिजार, प्रेम लामा र खले मिजारको घरमा क्षति पुगेको हो। रातिको समयमा अचानक हात्ती बस्तीमा पसेर घर भत्काउन थालेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन घर छाडेर सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका थिए।
स्थानीय नथे लामाका अनुसार हात्तीले घरका भित्ताहरू, ढोका–झ्याल तथा भण्डारण गरिएको अन्नपातमा समेत ठूलो क्षति पुर्याएको छ। घटनापछि बस्ती र आसपासका क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।
हात्तीको वितण्डाबाट पीडित खले मिजारले घरसँगै अन्नपातमा समेत क्षति पुगेको बताउँदै क्षतिपूर्तिको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्न माग गरे। “राति घरमै हात्ती पसेपछि बालबालिका र वृद्धलाई लिएर ज्यान जोगाउनै हम्मेहम्मे भयो,” उनले भने।
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार बस्तीमा दुईवटा बच्चा हात्तीसहित चारवटा हात्ती प्रवेश गरेका थिए। उनले यो क्षेत्र हात्तीको परम्परागत आवागमन मार्ग भएको उल्लेख गर्दै सोही मार्गमा बस्ती बसाइँ सरेपछि जोखिम बढेको बताए। स्थानीयलाई सचेत रहन आग्रह गर्दै उनले आगो बाल्ने, थाल ठटाउनेजस्ता उपाय अपनाउन सुझाव दिए।
प्रहरी र वन कार्यालयको संयुक्त टोली हात्तीलाई जंगलतर्फ फर्काउने प्रयासमा जुटेको छ। साथै थप क्षति हुन नदिन बस्ती वरपर निगरानी बढाइएको प्रहरीले जनाएको छ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०८२ माघ ३ शुक्रबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्


