शिक्षा बिना कुनै विकास सम्भव छैनः सभामुख यादव
उनले विद्यालयहरूले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिक शिक्षा, संस्कार, अनुशासन तथा सामाजिक मूल्य–मान्यतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। वर्तमान प्रतिस्पर्धात्मक युगमा व्यवहारिक, नैतिक तथा जीवनोपयोगी शिक्षा दिन सके मात्र विद्यार्थी सक्षम नागरिकका रूपमा स्थापित हुन सक्ने उनको भनाइ थियो।

२०८२ पुस १५ मंगलबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामअशिष यादवले शिक्षा बिना कुनै पनि प्रकारको विकास सम्भव नहुने बताएका छन्।
जनकपुरधामस्थित मोनाष्टिक इङ्ग्लिस बोर्डिङ स्कुलद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख यादवले सामाजिक विकासको मूल आधार शिक्षा भएको उल्लेख गर्दै शिक्षा बिना समुन्नत, सभ्य र सक्षम समाजको परिकल्पना गर्न नसकिने स्पष्ट पारे।
विश्वका विकसित तथा समृद्ध राष्ट्रहरूको उदाहरण प्रस्तुत गर्दै उनले शिक्षामा निरन्तर लगानी गरेका देशहरू नै आज विकास र समृद्धिको बाटोमा अघि बढेको बताए। “शिक्षा कुनै एक वर्ग वा समुदायका लागि मात्र होइन, समाजका हरेक तह र तप्काका व्यक्तिका लागि आवश्यक छ,” उनले भने, “शिक्षाको उज्यालोले मात्र समाजमा चेतना, नैतिकता र जिम्मेवारीको विकास हुन्छ।”
सभामुख यादवले सभ्य समाज निर्माणमा शिक्षा र शिक्षकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षकको सम्मान र शिक्षालाई प्राथमिकता दिन सके मात्र देशको भविष्य सुरक्षित हुने धारणा व्यक्त गरे। शिक्षाले पुस्तौँ पुस्तासम्म समाजलाई समुन्नत बनाउने प्रमुख माध्यमको रूपमा काम गर्ने उनले बताए।
उनले विद्यालयहरूले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिक शिक्षा, संस्कार, अनुशासन तथा सामाजिक मूल्य–मान्यतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। वर्तमान प्रतिस्पर्धात्मक युगमा व्यवहारिक, नैतिक तथा जीवनोपयोगी शिक्षा दिन सके मात्र विद्यार्थी सक्षम नागरिकका रूपमा स्थापित हुन सक्ने उनको भनाइ थियो।
“शिक्षा केवल परीक्षा पास गर्ने साधन होइन, असल नागरिक बनाउने माध्यम हो,” सभामुख यादवले जोड दिए।
कार्यक्रममा विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा विद्यालयको शैक्षिक क्षेत्रमा योगदान पुर्याएकाहरूलाई सम्मानसमेत गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…