न्यूज ब्यूरो, पटना । बिहारको राजधानी पटना स्थित काँग्रेस कार्यालयमा शुक्रबार भाजपा र काँग्रेस कार्यकर्ताबीच तीव्र झडप भएको छ । दरभंगामा राहुल गान्धीको ‘मतदाता अधिकार यात्रा’ का क्रममा प्रधानमन्त्री नरेन्द्र
न्यूज ब्यूरो, पटना । बिहारको राजधानी पटना स्थित काँग्रेस कार्यालयमा शुक्रबार भाजपा र काँग्रेस कार्यकर्ताबीच तीव्र झडप भएको छ । दरभंगामा राहुल गान्धीको ‘मतदाता अधिकार यात्रा’ का क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी दिवंगत आमाबारे दिएको अभद्र टिप्पणीको विरोध गर्दै भाजपा कार्यकर्ताले पटना काँग्रेस कार्यालयमा धावा बोल्दा परिस्थिति तनावपूर्ण बनेको हो ।
प्राप्त जानकारीअनुसार कार्यालय अगाडि नाराबाजी गरिरहेका भाजपा कार्यकर्ता अचानक गेट लात प्रहार गर्दै कार्यालयभित्र छिरे र त्यहाँ रहेका काँग्रेस कार्यकर्तासँग भीडन्त भए । दुबै पक्षबीच लाठी–डण्डा र ईँटपाथर चलेको दृश्य आजतकको क्यामेरामा कैद भएको छ ।
काँग्रेसले भाजपा कार्यकर्तामाथि जबर्जस्ती कार्यालयभित्र प्रवेश गरी तोडफोड र त्यहाँ पार्क गरिएका सवारी साधनमाथि आक्रमण गरेको आरोप लगाएको छ । अर्कोतर्फ, भाजपा कार्यकर्ताले भने आफूहरु शान्तिपूर्ण ढंगले विरोध गरिरहेको बेला काँग्रेस कार्यकर्ताले कार्यालयभित्रबाट नै ईँटपाथर हानेपछि स्थिति बिग्रिएको दाबी गरेका छन् ।
यस घटनाप्रति काँग्रेस सांसद राहुल गान्धीले सामाजिक सञ्जाल X मार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “सत्य र अहिंसाका अगाडि असत्य र हिंसा कहिल्यै टिक्दैनन् । मारो र तोडो, जतिसुकै तोडफोड गर – हामी सत्य र संविधानको रक्षा गर्दै रहन्छौं । सत्यमेव जयते।”
जनता दल युनाइटेडका नेता तथा बिहार सरकारका मन्त्री अशोक चौधरीले पनि भाजपा कार्यकर्ताद्वारा काँग्रेस कार्यालयमा घुसपैठ गरी हंगामा मच्चाएको निन्दा गरेका छन् । उनले भने, “कुनै पनि पार्टीका कार्यकर्ताले अर्को पार्टीको कार्यालयभित्र घुस्नु र तोडफोड गर्नु उचित छैन।”
यसबीच, दरभंगामा प्रधानमन्त्री मोदी र उनकी दिवंगत आमाबारे अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीले मोहम्मद रिजवी उर्फ ‘राजा’ लाई पक्राउ गरेको जनाएको छ । उक्त भिडियो केही दिनअघि भाइरल भएपछि भाजपा कार्यकर्ताले काँग्रेससँग सार्वजनिक रुपमा माफी माग्न दबाब दिइरहेका थिए ।
काँग्रेस पार्टीले भने यस घटनाबाट आफूलाई अलग्याएको छ । पार्टी नेता राशिद अल्वीले अपशब्द प्रयोगलाई काँग्रेसले स्वीकार नगर्ने र यसको निन्दा गर्ने बताएका छन् । यता, भाजपा प्रवक्ता नीरज कुमारले राहुल गान्धीमाथि सीधा प्रहार गर्दै भनेका छन्, “प्रधानमन्त्री मोदीजस्तो गरीब र ओबीसी समुदायको छोरा देशको सर्वोच्च पदमा पुगेको कुरा काँग्रेसलाई सहन छैन । यस्तो ईर्ष्याले अन्ततः काँग्रेसलाई नै विनाशतर्फ धकेल्नेछ।”
पटना प्रहरीले भने घटनापछि दुबै पक्षलाई नियन्त्रणमा लिई स्थितिलाई सामान्य बनाउन प्रयास भइरहेको जनाएको छ ।