Gen-Z आन्दोलनमा 'संविधान बचाउ' गरेका मधेशी मोर्चाले भोली संविधानको विरोधमा 'कालो दिवस' मनाउने
विज्ञप्तिअनुसार संविधान जारी गर्ने क्रममा राज्यले मधेशमा दमन गरेको, आन्दोलनका क्रममा मधेशका दर्जनौँ सपुतको मृत्यु भएको र आन्दोलनको मर्मविपरीत ‘अपूर्ण संविधान’ लादिएको आरोप लगाइएको छ। मोर्चाले यसपटक पनि सामूहिक रूपमा कालोपट्टी बाँधी प्रदर्शन गर्ने र संविधानको पुनर्लेखन वा संशोधनको माग दोहोर्याउने बताएको छ।

२०८२ असोज २ बिहीबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले यस वर्ष पनि असोज ३ लाई ‘कालो दिन’का रूपमा मनाउने भएको छ।
मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले मंगलबार विज्ञप्ति जारी गर्दै २०७२ असोज ३ मा जारी भएको संविधानप्रति मधेशको असहमति अझै समाधान नभएकाले विरोधलाई निरन्तरता दिने बताएका छन्।
विज्ञप्तिअनुसार संविधान जारी गर्ने क्रममा राज्यले मधेशमा दमन गरेको, आन्दोलनका क्रममा मधेशका दर्जनौँ सपुतको मृत्यु भएको र आन्दोलनको मर्मविपरीत ‘अपूर्ण संविधान’ लादिएको आरोप लगाइएको छ। मोर्चाले यसपटक पनि सामूहिक रूपमा कालोपट्टी बाँधी प्रदर्शन गर्ने र संविधानको पुनर्लेखन वा संशोधनको माग दोहोर्याउने बताएको छ।
विज्ञप्तिमा भदौ २३ र २४ मा जेनजीको आन्दोलनमा अराजक तत्वको घुसपैठ भएर विभिन्न दलका कार्यालय र लोकतान्त्रिक संरचनामा क्षति पुर्याइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरिएको छ।
मोर्चाले जेनजीको क्रान्तिपछि बनेको सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यताअनुसार समानुपातिक–समावेशी ढंगले अघि बढ्न सुझाव दिएको छ। साथै, संघीयता, गणतन्त्र र मौलिक अधिकार जस्ता जनताका अग्रगामी अधिकारमा ‘कुनै प्रकारको षड्यन्त्र’ भए स्वीकार नगर्ने चेतावनी पनि दिएको छ।
यता सरकारले भने असोज ३ लाई संविधान दिवसका रूपमा धुमधामका साथ मनाउँदै देशभर सार्वजनिक बिदा दिने गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…