आन्दोलनको नाममा लुटपाट, बलात्कार प्रयास, तोडफोड, आगजनी गरिए कडा कारवाही हुन्छः नेपाली सेना
सेनाले आन्दोलनपश्चातको समस्यालाई सम्बोधन गर्न संवाद र सहमति जारी रहेकाले नागरिकलाई संयमित रहन अनुरोध गरेको छ। “जनजीवनलाई सामान्य बनाउने जिम्मेवारी सबैको हो। राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग पुगोस्,” विज्ञप्तिमा भनिएको छ।

२०८२ भदौ २५ बुधबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्यमान विपत्तिपूर्ण परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी निर्वाह गर्दै आएको नेपाली सेनाले आम नागरिकलाई संयमित रहन र सहकार्य गर्न अपील गरेको छ।
नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा जनधनको क्षति, आपराधिक गतिविधि, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, बलात्कारको प्रयास र हिंसात्मक आक्रमण जस्ता कार्य तत्काल रोक्न आग्रह गरेको हो। सेनाले यस्ता कार्य गर्ने वा गराउने व्यक्तिहरूलाई कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको नाममा विभिन्न अराजक समूहले व्यक्तिगतरूपमा वा सामूहिक रूपमा तोडफोड, आगजनी, लुटपाट, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसात्मक आक्रमण गर्ने गतिविधि भइरहेको पाइएकाले मुलुकको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको छ।”
काठमाडौंमा भदौ २५ गते राति ९ बजेदेखि लागू भएको निषेधाज्ञा भोलि भदौ २६ गते बिहान ६ बजेसम्म कायम रहनेछ। सोही अवधिमा कर्फ्यु आदेश समेत जारी रहने नेपाली सेनाले जनाएको छ। परिस्थितिको मूल्यांकन गर्दै थप निर्णय हुने पनि सेनाले स्पष्ट पारेको छ।
कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। तर, यस्ता सेवाको आवागमन नजिकै रहेका सुरक्षाकर्मीको समन्वयमा मात्र हुने बताइएको छ।


सेनाले आन्दोलनपश्चातको समस्यालाई सम्बोधन गर्न संवाद र सहमति जारी रहेकाले नागरिकलाई संयमित रहन अनुरोध गरेको छ। “जनजीवनलाई सामान्य बनाउने जिम्मेवारी सबैको हो। राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग पुगोस्,” विज्ञप्तिमा भनिएको छ।
यस्तै, सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक तथा आम नागरिकलाई आधिकारिक सूचना बाहेक अन्यमा विश्वास नगर्न आग्रह गरेको छ।
नेपाली सेनाले जुनसुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षा तथा मानव अधिकारको संरक्षण गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…