जसपा मधेश प्रदेशको अध्यक्षको लागि यादव भर्सेज यादव भिडने
योगेन्द्र राय यादव विद्यार्थी जीवनदेखि नै मधेशमै आधारित रही राजनीति गर्दै आएका नेता हुन्। उनी समाजवादी युवा संघका पूर्वअध्यक्षसमेत रहिसकेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवका नजिकका सहयोगीका रूपमा लामो समय काम गरिसकेका उनले संगठन निर्माणमा गरेको योगदानलाई आधार बनाएर उम्मेदवारी घोषणा गरेका हुन्। आफू निर्वाचित भएमा ०८४ को चुनावी मिशन सफल बनाउने दाबी उनले गरेका छन्।

२०८२ भदौ २२ आइतबार, बिहान ८:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका आकांक्षी नेताहरूबीच प्रतिस्पर्धा चर्किएको छ। आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म जनकपुरधाममा हुने अधिवेशनलाई प्रदेश राजनीतिमा निकै महत्वका साथ हेरिएको छ।
यसअघि मधेश प्रदेश कार्यसमितिका अध्यक्ष बालकिशोर यादव नेतृत्व गरिरहेका छन्। उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि आन्तरिक तयारी सुरु गरिसकेको बताइएको छ। यसैबीच, पूर्वराज्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले भने प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
योगेन्द्र राय यादव विद्यार्थी जीवनदेखि नै मधेशमै आधारित रही राजनीति गर्दै आएका नेता हुन्। उनी समाजवादी युवा संघका पूर्वअध्यक्षसमेत रहिसकेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवका नजिकका सहयोगीका रूपमा लामो समय काम गरिसकेका उनले संगठन निर्माणमा गरेको योगदानलाई आधार बनाएर उम्मेदवारी घोषणा गरेका हुन्। आफू निर्वाचित भएमा ०८४ को चुनावी मिशन सफल बनाउने दाबी उनले गरेका छन्।
अर्कोतर्फ, हालका अध्यक्ष बालकिशोर यादवलाई पार्टीभित्र अनुभवी र व्यवस्थापकीय क्षमता भएको नेतृत्वका रूपमा लिइन्छ। स्वास्थ्य कार्यालय पर्सामा सातौँ तहका अधिकृत रहेका बेला दुई वर्षअघि उनलाई प्रदेश अध्यक्ष बनाइएको थियो। उनले पार्टीलाई प्रमुख प्रतिपक्षीको भूमिकामा स्थापित गर्न योगदान दिएको भनाइ समर्थकहरूको छ। हाल पनि उनले पुनः उम्मेदवारी दिने सम्भावना उच्च देखिन्छ।
मधेश प्रदेश अधिवेशनलाई यसपटक ‘एकताको प्रथम अधिवेशन’ का रूपमा हेरिएको छ। अधिवेशनबाट ६५ सदस्यीय प्रदेश समिति र ९ पदाधिकारी चयन हुने छन्। प्रदेशका आठवटै जिल्लाबाट करिब ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। प्रतिनिधि छनोट भदौ २५ गतेसम्म क्षेत्रीय भेलामार्फत सम्पन्न हुने कार्यक्रम छ।
जसपा नेपाल मधेश प्रदेश अधिवेशनको उद्घाटन भदौ ३१ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हुने छ भने असोज १ गतेदेखि बन्दसत्र शुरु हुनेछ। अहिले अध्यक्ष पदमा दुईजना आकांक्षी देखिएका छन्, तर अन्तिम क्षणमा थप उम्मेदवार आउने सम्भावना पनि उत्तिकै रहेको नेताहरूको अनुमान छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…