शहिदनगरमा नियम कानुन विपरित वडाध्यक्षलाई बनाए कार्यवाहक मेयर, उपमेयर होच्याइएको आरोप
उपमेयरलाई पन्छाएर वडाध्यक्षलाई कार्यवाहक बनाउने कदम उपमेयरको अधिकार खोस्ने प्रयासका रूपमा लिइएको छ। स्थानीय तहमा जनप्रतिनिधिहरूबीच सहकार्य र विश्वास कायम गर्नुपर्ने बेला उल्टै मेयरले ऐनविपरीत कदम चालेको भन्दै आलोचना बढ्दै गएको छ।

२०८२ भदौ १९ बिहीबार, राति ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले कानुनी व्यवस्थाविपरीत एक वडाध्यक्षलाई कार्यवाहक मेयर बनाएपछि स्थानीय तहको नेतृत्व प्रणालीमा विवाद उत्पन्न भएको छ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ र सम्बन्धित कानुनी प्रावधानअनुसार मेयर अनुपस्थित भएमा उपमेयर स्वाभाविक रूपमा कार्यवाहक प्रमुख बन्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै एक वडाध्यक्षलाई कार्यवाहको जिम्मेवारी दिएपछि उनको विरोध भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १८(३) मा उल्लेख छ – “प्रमुख अनुपस्थित भएमा उपप्रमुखले कार्यवाहक प्रमुखको रूपमा कार्य गर्नेछ।” यस ऐनअनुसार कुनै पनि अवस्थामा उपमेयरलाई पन्छाएर वडाध्यक्ष वा अन्यलाई कार्यवाहक बनाउने अधिकार मेयरलाई छैन। यसरी ऐनविपरीत निर्णय लिनु कानुनको अवहेलना मात्र नभई उपमेयरको संवैधानिक हैसियतमाथि प्रत्यक्ष आघात भएको जनप्रतिनीधिहरुको भनाई छ ।
मेयर दिनेश यादवले बाहिर जाने क्रममा उपमेयरलाई छाडेर वडा नं. ३ का वडाध्यक्ष मनोज दासलई कार्यवाहकको जिम्मेवारी दिँदा नगरको राजनीतिक र प्रशासनिक मर्यादामाथि प्रश्न उठेको छ। कानुनविद्हरूका अनुसार यस्तो कार्यले शक्ति दुरुपयोगको संकेत मात्र होइन, स्थानीय तहको सुशासन र जवाफदेहितामाथि समेत धक्का पुरयाएको एक कर्मचारीले भने ।
उपमेयरलाई पन्छाएर वडाध्यक्षलाई कार्यवाहक बनाउने कदम उपमेयरको अधिकार खोस्ने प्रयासका रूपमा लिइएको छ। स्थानीय तहमा जनप्रतिनिधिहरूबीच सहकार्य र विश्वास कायम गर्नुपर्ने बेला उल्टै मेयरले ऐनविपरीत कदम चालेको भन्दै आलोचना बढ्दै गएको छ।
स्थानीय तह जनताको शासन सञ्चालनको सबैभन्दा नजिकको निकाय हो। त्यहाँ कानुनको पालना नहुने हो भने नागरिकले भरोसा गर्ने आधार कमजोर हुन्छ। शहिदनगरमा देखिएको यो घटना नगरका जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादको उदाहरणका रूपमा व्याख्या गरिएको छ।
जनता समाजवादी पार्टीबाट निर्वाचित मेयरले नेपाली काँग्रेसबाट निर्वाचित उपमेयरको हक खाईदिएको छ भने जसपा नेपालबाटै निर्वाचित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…