हुलाकी सडक र कमला पूल निर्माणको लागि मधेशका मेयर उपमेयरहरु एकतावद्ध हुने
त्यस्तै, सिरहा, सप्तरी र महोत्तरीका मेयर तथा गाउँपालिका अध्यक्षहरूले पनि हुलाकी सडक र कमला पुल अपूरा हुँदा जिल्लाबासीले भोग्नु परेको कठिनाइको अनुभव साझा गर्दै छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।

२०८२ भदौ १८ बुधबार, बेलुकी ६:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगतदेखि निर्माणधीन रहेको मधेशको लाईफलाईन हुलाकी सडक र कमला पूल निर्माणको लागि मधेश प्रदेशका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्षहरु एक हुने निर्णय गरेको छ ।
बुधबार धनुषाको कमला नगरपालिकाले आयोजना गरेको कमला पुल तथा हुलाकी सडक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरीका पालिका प्रमुख, उपप्रमुहरुले एक भएर पूल निर्माण तथा हुलाकी सडक निर्माण कार्यको लागि दबाब दिने निर्णय गरेको हो ।
कमला पूल निर्माण नुहँदा आयात निर्यातको कार्य, व्यापारिक लाईनसहित आम सर्वसाधारणलाई समेत आवतजवातमा समस्या उत्पन्न भईरहेको धेरै बर्ष भएपछि पालिका प्रमुखहरुले सामुहिक रुपमा निकायमा दबाब दिने निर्णय गरेको हो ।
कमला पुलको नयाँ डिजाईन, नयाँ डिपिआर र नयाँ पूल यथाशिघ्र बनाउनको लागि सम्बन्धित निकायमा पहल गर्ने गरी जनकपुरका मेयर मनोज साहसहित कमला नगरपालिका मेयर विशेश्वर यादव, उपमेयर शिलादेवी मण्डल, सिरहा र सप्तरी तथा महोत्तरीका हुलाकी सडक अन्तर्गत पर्ने पालिकाका प्रमुख उपप्रमुखहरुले सामुहिक प्रतिवद्धता जाहेर गरेको कमला नगरपालिका प्रशासन प्रमुख एवम् अधिकारी बीरेन्द्र कुमार सढानले जानकारी दिए ।

स्थानीय जनताको दैनिकी, व्यापार, कृषि तथा उद्योगमा ठूलो योगदान पुर्याउने यी पूर्वाधार योजनाहरू वर्षौंदेखि अलपत्र पर्दा जनताले ठूलो असुविधा भोगिरहेको कार्यक्रममा सरोकारवालाले बताएका थिए।
कमला नगरपालिकाका प्रमुख यादवले कार्यक्रममा बोल्दै पुल र सडक निर्माण ढिलाइ हुनु मधेशका लागि ठूलो अन्याय भएको टिप्पणी गरे। उनले भने, “हुलाकी सडक र कमला पुल दुवै मधेशको विकास, यातायात सुविधा, व्यापारिक गतिविधि र आपतकालीन उद्धारका लागि अत्यावश्यक छन्। अब हामी सबै एक भएर यसको निर्माणमा दबाब सिर्जना गर्नेछौं।”
त्यस्तै, सिरहा, सप्तरी र महोत्तरीका मेयर तथा गाउँपालिका अध्यक्षहरूले पनि हुलाकी सडक र कमला पुल अपूरा हुँदा जिल्लाबासीले भोग्नु परेको कठिनाइको अनुभव साझा गर्दै छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।

संयुक्त दबाब समिति गठन गर्ने, जसले संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरूसँग छलफल गर्ने।, निर्माण कार्यमा ढिलाइ गर्ने कम्पनी वा निकायलाई कारबाहीको माग गर्ने, जनस्तरमा जनचेतना र दबाब अभियान सञ्चालन गर्ने, साझा ज्ञापनपत्र तयार गरी प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकी सडक आयोजना कार्यालयमा बुझाउने कुरा उठेको हो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रतिनिधिहरूले आगामी दिनमा हुलाकी सडक र कमला पुललाई मधेशको “लाईफलाईन प्रोजेक्ट” का रूपमा लिएर निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा विभिन्न पालिकाका मेयर, उपमेयर, अधिकृत तथा सरोकारबाहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…