लाटोकोसेरो (उल्लु) बचाउन धनुषामा 'मुहदुसा' उत्सव मनाइदै
सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो। मिथिला वाइल्ड लाइफ ट्रस्ट र ‘प्रकृतिका साथीहरू’को आयोजनामा मनाउन लागिएको सो उत्सवले ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

२०८१ माघ १७ बिहीबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा लाटोकोसेरो अर्थात उल्लु बचाउन “मुहदुसा” उत्सव मनाइने भएको छ ।
आउँदो माघ २५ र २६ गते धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ र ३ मा मुहदुसा उत्सव मनाइने भएको छ । उत्सवको १२ औँ सँस्करणको लागि जनकपुरबाट धनुषाधाम जाने बाटोमै पर्ने कल्चरल भिलेजस्थित मुहदुसा उत्सव मनाइने आयोजक मूल समिति सँयोजक देवनारायण मण्डलले जानकारी दिए ।
उत्सवको पूर्वतयारीअनुरूप स्थानीय विभिन्न विद्यालयहरूमा लाटोकोसेरो संरक्षण चेतना शिविरहरू सञ्चालन भइरहेको जनाउँदै आयोजकले उत्सवको दिन चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने जनाएको छ। उत्सवमा प्रवेश भने निःशुल्क हुने जनाइएको छ ।
यसैगरी, नगरपालिकास्तरीय चित्रकला, निबन्ध तथा कविता प्रतियोगितासमेतको आयोजना भइरहेको तथा सो अवधिमा लाटोकोसेरो तथा हुचिलको अस्थायी संग्रहालय निर्माण तथा प्रदर्शनी हुने बताइएको छ। दुई दिनसम्म चल्ने उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी तथा फोटो प्रदर्शनी, गहुँको छ्वाली, चुरा, ढुंगा, स्टिलको पाता, लप्सीको दाना, काठ र माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शन गरिनेछ।
उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्नेसमेत व्यवस्था हुने आयोजकले जनाएको छ। कार्यक्रममा एक फिट अग्लो लाटोकोसेरोको रोबोट प्रदर्शन गरिनेसमेत आयोजकले जनाएको छ।
सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो। मिथिला वाइल्ड लाइफ ट्रस्ट र ‘प्रकृतिका साथीहरू’को आयोजनामा मनाउन लागिएको सो उत्सवले ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…