अब Facebook Page र Youtube मा पनि प्रेस काउन्सिलको निगरानी
‘मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन र प्रसारण गर्ने गरेको भनी गुनासा प्राप्त भइरहेका छन्। यस्ता गतिविधिहरूलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

२०८१ कार्तिक २८ बुधबार, बेलुकी ६:४८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौँ । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ।
सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो।
सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरू गरेको जनाएको छ।
मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि अपिल पनि जारी गरेको छ।
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न कामसमेत गर्दै आएको काउन्सिलले जनाएको छ।
सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाइ कार्यान्वयन गरिरहेको उल्लेख छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…