न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको एउटा कुनोमा सिङ्गो मधेश छ । फरकफरक जातीय, भाषिक र रहनसहनमा जन्मेहुर्केकाहरूको सिर्जनासँग बाँच्ने थलो । चारैतिरबाट खेतआली र पोखरीले घेरिएको यो ठाउँमा सोह्रसत्रजना कलाकारहरू सुत्नेबस्ने र काम गर्ने गर्छन् । झट्ट हेर्दा मधेशको एउटा गाउँको जीवन प्रतिबिम्बन गर्ने यस ठाउँमा भित्तामा लोककला छापिएका र खपडाले छाएका घर, दाम्लोमा बाँधिएर घाँस चपाइरहेका बाछो अनि धानतरकारी उब्जनी गर्न प्रयोग हुने अस्त्रऔजार छन् । छेउमै छ प्लास्टर नभएका इँटामा उभिएको टहरा ।
जनकपुरधाम– रामपुरस्थित यस गाउँमा बस्नेहरूले यस ठाउँको नाउँ जुराएका छन् नोचापुर । छेउमै पर्यटकीय स्थल नोचा पोखरी रहेकाले गाउँको नाउँ नोचापुर जुराइएको हो । नोचापुर अभिनय, गायन, नृत्य, वाद्यवाद्यन, छायाङ्कन र सम्पादन गर्ने कलाकारको सिर्जन र समर्पणस्थल बन्न पुगेको छ ।
हास्यव्यंग्यको भाकामा समाजमा सकारात्मक सन्देश प्रवाहित हुने सानासाना श्रव्यदृश्य उत्पादन गर्ने र युट्युबबाट प्रसारण गर्ने कलाकारहरूको यो टोलीको औपचारिक नाउँ लभ यु मैथिली हो । तर, यो ठाउँ कलकतियावालीको गाउँको रूपमा चिनिने गरिएको छ । कलकतियाबाली यहाँबाट उत्पादन हुने श्रव्यदृश्यका मूलपात्र हुन् । कलकतियावाली अर्थात् तेस्रोलिङ्गीको भूमिकामा अभिनाश झा देखिने गर्छन् । यो पात्रसँगै नोचापुरका अन्य पात्र नेपाल र भारतका ठूलो भूभागमा चर्चित र लोकप्रिय छन् । मासिक डेढ सयवटा विषयमा भिडियो बनाउने यो टोलीका उत्पादनलाई पाँचदेखि छ लाखसम्म दर्शकले नियमित हेर्ने गर्छन् । यो टोलीको कमाइ पनि युट्युबबाट प्राप्त हुने रकम नै हो ।
केही बिघा जग्गा लिजमा लिएर बनाइएको यो सुटिङ्ग स्थल अर्थात् फिल्मी गाउँमा आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह मन्त्री तथा सरकारी अधिकारीहरूसँग पुगे । उनले बडो रुचिपूर्वक नोचापुरका घरखेत अवलोकन गरे अनि यहाँका कलाकारहरूसँग तिनका सङ्घर्ष, सिर्जना र सफलताका कथा सुने ।
कथानक र गीति भिडियो तयार गर्न चाहिने सबैखाले सीप, इलम र प्रतिभा एकै ठाउँमा भेटिने यो थलोमा बस्नेहरूले सुटिङ स्थल वरपर रहेको खेतमा आफ्नो खान्कीका लागि अन्नतरकारी आफैँ उब्जाउँछन् । माछा र कुखुरापालन गर्छन् । अबेर रातिसम्म कृत्रिम उज्यालोमा सुटिङ्ग गर्ने काम त सधैँभरिको हो ।
कलाकारहरूले आफ्ना रचनाप्रक्रियाका बारेमा कुरा गरिरहँदा मुख्यमन्त्री सिँहले मनोयोगले सुने । कलाकारहरूसँग केही प्रश्न गरे । अनि मधेशका भाषासँस्कृति, लोककला र साहित्यलाई उँभो लगाउन सरकारको तहबाट गर्न सकिने प्रयासका बारेमा केही जिज्ञासा राखे र केही सुनाए ।
उनले कलाकारहरूलाई आफ्नो सिर्जनामार्फत लागुऔषधको दुव्र्यसन र ओसारपसार रोक्न, खेती प्रणालीमा सुधार गर्न, स्थानीय पर्यटन विकासका लागि विभिन्न धार्मिक तथा साँस्कृतिक धरोहर चिनाउन, समाजमा विद्यमान अन्धविश्वास र कुरीतिविरुद्ध सन्देशमूलक भिडियो बनाउन सुझाए । उनले भने, ‘यसका लागि प्रदेश सरकार तपाईँहरूसँग सहकार्य गर्न सक्छ ।’
मुख्यमन्त्री सिँह र शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मासँगको भेटमा कलाकारहरूले आफूहरूलाई खेतीपातीका लागि सहज बनाउन कृषि उपकरण उपलब्ध गराइदिन तथा सिँचाइ व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । यसका साथै उनीहरूले सुटिङ्ग स्थलमा केही संरचना निर्माणमा सहयोग भए थप उन्नत तथा गुणस्तरीय भिडियो उत्पादन गर्न सकिने पनि सुनाए ।
त्यसको प्रत्युत्तरमा मुख्यमन्त्री सिँहले सँगै रहेका प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। शरण पाण्डे र गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई त्यससम्बन्धमा गर्न सकिने सहयोगका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिए ।
मुख्यमन्त्री सिँहको भ्रमणबाट नोचापुरका कलाकारहरू निकै उत्साहित भएका छन् । टोलीका निर्देशक अरुण विजयले आफूहरूका कामकाजका बारेमा प्रदेश सरकारको उच्चतहबाट चासो लिनु गौरवपूर्ण भएको र यसबाट कलाकारहरू उत्साहित भएको बताए । उनले भने, ‘सरकारले कलाकारलाई माया गर्दोरहेछ भन्ने पहिलोपटक अनुभूति भयो ।’
भारतको राजधानी दिल्लीमा बम आक्रमणको चेतावनी, सुरक्षा टाईट
- २०८१ कार्तिक ४ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने
पूरा पढ्नुहोस्