सिरहाको एक विद्यालयमा "डोम" भनेर दलित महिलालाई छुवाछुत गरी हेपेपछि...
न्यूज ब्यूरो | सिरहा, ३० जेठ । जातीय छुवाछूत र भेदभावलाई कानुनले निषेध गरी दण्डनीय मात्र बनाएको छैन, निजी र सार्वजनिक स्थलमा विभेद गर्ने कार्यलाई समेत बन्देज लगाएको छ । तर, सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले चार दिनदेखि खाजा कार्यक्रम नै बन्द गरिए

२०७५ जेठ ३० बुधबार, दिउँसो १२:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ३० जेठ । जातीय छुवाछूत र भेदभावलाई कानुनले निषेध गरी दण्डनीय मात्र बनाएको छैन, निजी र सार्वजनिक स्थलमा विभेद गर्ने कार्यलाई समेत बन्देज लगाएको छ । तर, सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले चार दिनदेखि खाजा कार्यक्रम नै बन्द गरिएको छ ।
खाजा कार्यक्रमका लागि विद्यालय व्यवस्थापन समितिको बैठकले डोम समुदायकी स्थानीय भालसैर मरिकलाई भान्से नियुक्त गरेपछि ’कथित’ उपल्लो जातिकाहरुले खाजा कार्यक्रम नै बन्द गरएका हुन् । गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता गीता रोक्का मिझारले टिफिनको समयमा आफैँले खाजा झिकेर खाएपछि उपल्ला जातकाहरुले खाजा कार्यक्रम नै बन्द गरेको स्थानीय दलित अभिभावकहरूको आरोप छ । ‘केही दिनदेखि विद्यालयमा बालबालिकाको खाजा बन्द छ’ स्थानीय अभिभावक राजकुमार पासवानले भने ‘जातीय भेदभाव गर्नेहरूविरुद्ध कारबाही हुनुपर्छ ।’
यसरी गरियो विभेद ः
सहजकर्ता मिझारले खाजाको लागि पकाइएको चना आफैँले झिकेर खाएको भोलिपल्ट जेठ २१ गते टिफिनमा हलुवा खान खोज्दा प्र.अ. जनदीश यादव र भान्से महतोले भान्साको साँचो लुकाएका थिए । साँचो खोजी गर्ने क्रममा भान्से महतोले रोक्कालाई ‘तल्लो जातकी’ भन्दै विद्यालयमै गालीगलौज गरेकी थिइन् । आफैँ कार्यरत विद्यालय जस्तो ठाउँमा जातीय रुपले भेदभाव र अपमान गरिएपछि सहजकर्ता मिझारले विद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । ‘उजुरीको विषयमा शिक्षकहरुसँग बसेर छलफल गर्ने योजना बनाउँदै थिएँ’ प्र.अ. यादवले भने ‘अभिभावकहरु आएर सोधखोज गरेपछि घटना बाहिर आएको हो ।’
समितिले राख्यो डोम महिला भान्से :
विद्यालयमा जातीय छुवाछूत गरिएपछि स्थानीय दलित अभिभावकहरूले जेठ २५ गते विद्यालय व्यवस्थापन समितिको बैठकमार्फत् भान्से महतोलाई हटाएर भालसैर मरिक र सहयोगीको रूपमा उर्मिला मिझारलाई नियुक्त गरेका थिए ।
पर्सिपल्ट वडाध्यक्ष रामपुकार कामती र प्रअ यादवको मिलेमतोमा समितिको अर्को बैठकको ’माइन्युट’ खडा गरी ‘मलाई खाजा बनाउने अनुभव नरहेकोले विद्यालयको नियमित सरसफाइको काम गर्न मञ्जुर छु’ भन्ने व्यहोराको निर्णय गरिएको थियो । भान्से नियुक्त गरिए पनि भान्साको साँचो नदिइएपछि तीन दिनदेखि विद्यालय आउँदै फर्किंदै गरेकी मरिकले भनिन् ‘मैले खाजा बनाउन आउँदैन भनेकै छैन, मलाई डोम भनेर हेपिएको हो ।’ डोम महिलालाई भान्से राखे अन्य समुदायका विद्यार्थीलाई विद्यालय पठाउनु हुँदैन भन्दै समितिका अध्यक्ष दाउद राइन स्वयम् घर घर पुगिरहेको गाउँलेहरू बताउँछन् ।
यता, विद्यालय जस्तो ठाउँमा गरिएको जातीय विभेदको घटनाको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले त्यसमा संलग्न जोसुकैलाई कानुन अनुसार कारबाही हुने बताए । कानुनले बन्देज गरेको जातीय छुवाछूत गर्ने, उक्साउनेहरुलाई कानुन अनुसार कारबाही हुने उनले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…