उमेश बचाउ अभियानमा उठाइएको रकम अझ "अपारदर्शी"
बैँक खातामा ५० लाख रुपैयाँ बढी जम्मा भएको अनुमान गरिएको छ ।

२०७५ जेठ २२ मंगलबार, बिहान ९:४४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २२ जेठ । उमेश बचाउ अभियानमा उठाइएको लाखौँ रकम अझ अपारदर्शी राखिएको छ ।
सउदीको जुबेल जेलमा एक पाकिस्तानी नागरिक हत्या अभियोगमा विगत १२ वर्षदेखि जेलमा रहेका धनुषा कमला नगरपालिका वडा नं. ३ पर्साका ३७ वर्षिय उमेश यादव वचाउको लागि अभियान सुरु गरिएको थियो ।
ग्रोविंग नेपाल फाउण्डेशनका अध्यक्ष एवम् एनजिओकर्मी सरोज रायले उमेश बचाउको लागि पाकिस्तानी परिवारको माफीनामा मात्र विकल्प रहेको भन्दै पाकिस्तान पुगेर ३० लाख रुपैयाँ नेपाली लाग्ने मौखिक सन्देश दिएपछि अभियान सुरु भएको थियो ।
हालाकी, अहिलेसम्म पाकिस्तानी परिवारसँग कति रकम लिएर माफीनामा दिने भनेर ठोस प्रमाण वा सम्झौता कागजात सार्वजनिक नगरिएकोले दाता तथा सहयोगकर्ताहरुमा अलमलताका साथै शंका उत्पन्न भएको छ ।
गत अप्रिल २७ तारिख २०१८ देखि नै अभियान सुरु भएको थियो । पाकिस्तानमै रहेका बेला रायले पाकिस्तानी परिवारले ३० लाख रुपैयाँ नेपाली बुझाएपछि माफीनामा पत्र दिने र त्यसपछि उमेश घर फर्कने बताएका थिए ।
पाकिस्तानी ३० लाख रुपैयाँ माग गरिएको छ जसको नेपाली रकम करिब २८ लाख रुपैयाँ हुन जान्छ । रायले नेपाली रुपैयाँ ३० लाख लाग्ने मौखिक जानकारी दिएपछि सहयोगी हातहरुले अभियानलाई मूर्त रुप दिएको हो ।
माग गरिएको ३० लाखको लक्ष्य पुरा गर्दै अहिलेसम्म ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खातामा ५० लाख रुपैयाँ बढी जम्मा भएको अनुमान गरिएको छ । तथापी रायले अहिलेसम्म कतिको रकम जम्मा भएको छ पारदर्शी अझ गरेका छैनन् ।
भिडियो सन्देश मार्फत हरेक दिनको जम्मा रकमको अर्थात बैँक स्टेटमेन्ट गूगल डोकुमेन्ट मार्फत सार्वजनिक गर्ने प्रतिवद्धता दिएपनि अहिलेसम्म रकमको पार्दर्शी नगरिदिँदा सहयोगकर्ताहरुमा आक्रोस र शंका दुवै उत्पन्न भएको छ ।
बेला बेलामा फेसबुक लाईभ आएर ईमोसनल कुराहरु गर्दै रायले सहयोगकर्ताहरुलाई भावनाको बन्धनमा बाँध्दै आएको प्रष्ट देखिएको छ ।
यता, लक्ष्य ३० लाख रुपैयाँ पुरा भएपछि औपचारिक रुपमा जम्मा नगर्न आग्रह गर्ने भनिएपछि अहिलेसम्म औपचारिक रुपमा त्यस खाता रकम जम्मा नगर्न नभनिएपछि शंका झन उत्पन्न भएको छ ।
हरेक सानो सानो कुरामा फेसबुक लाईभ आएर ताजा अपडेट र गतिविधि दिने रायले उमेश बचाउको लागि चाहिने रकम पुरा भएपनि अहिलेसम्म त्यस खातामा रकम जम्मा नगरिदिनको लागि अपिल गरेका छैनन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुले रेमिटयान्स मार्फत समेत लाखौँ रुपैयाँ उमेश बचाउको लागि पठाएको भएपनि त्यो रकमको कुनै जानकारी कसैलाई पनि गराइएको छैन् ।
कैँयो सहयोगकर्ताले उमेश बचाउको लागि चेक मार्फत रकम सहयोग गरेका छन् भने कैँयो हुण्डी, रेमिट्यान्स मार्फत सिधा रायको नाममा रकम पठाएको छ ।
उमेश घर आउँला कि नआउँला ?
यसका साथै, रायले माफीनामा वापतको ३० लाख रुपैयाँ पाकिस्तानी परिवारलाई बुझाएपछि उमेश फिर्ता आउने भनेपनि अहिलेसम्म उमेश नेपाल आउने नआउनेमा अनभिज्ञ छ ।
पाकिस्तानी परिवारलाई रकम बुझाएपछि उमेश घर आउने भनेका रायले ठोस रुपमा उमेशको फिर्ता बारे वक्ततत्व जाहेर गरेका छैनन् ।
एक भिडियो सन्देशमा उमेश आउने की नआउने शिर्षक राखेर फेसबुक लाईभ आएपनि उमेशको घर फर्कने बारे चर्चा नगरेपछि राय उपर शंका झन बढेको प्रतिक्रियाहरु समाजिक सञ्जालमा देखिएको छ ।
विदेशमा रहेर खुन पसिना बगाएर कमाएको रकमबाट पेट काटी उमेश बचाउको लागि दिएको रकमबारे बुझने हक रहेको भन्दै युवाहरुले बैँक खातामा जम्मा भएको रकमको अधिकारिक पार्दर्शीता गर्न माग गरिरहेका छन् ।
यता, रायले भने केही दिनमै रकम सार्वजनिक गर्ने भन्दै आएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…