विदेशमै रहेको युवकको नाममा यादवले बनाए फर्जी तमसुक, गरिबको घरजग्गा रोक्का हुँदा बिच्चलीमा
गत भदौ २९ गते दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा सहमति भएपनि नक्कली साहु यादवले फुकुवा नगरेको गुनासो छ । अहिले अजय कुमार साह न्यायको लागि विभिन्न सँघ सँस्था, कानुनको ढोकामा भौँतारिदैछन् ।

२०८० मंसिर २७ बुधबार, बेलुकी ६:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा एक जना साहुले एक युवकको नाममा फर्जी कागज बनाएर उनको घर जग्गा रोक्का गरिदिएको घटना बाहिरिएको छ ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. १ सोनमा बस्ने जगदेव रायको छोरा विजय यादवले सोही स्थान बस्ने स्थानीय रामदेव साहका छोरा अजय कुमार साहको नाममा फर्जी कपाली तमसुक बनाएर जग्गा जमिन रोक्का गरिदिएको घटना बाहिरिएको हो ।
२०७५ सालमा बनाएको सो कपाली तमसुक मिटरब्याजमा मुद्दा परेपछि फर्जी ठहर भएको थियो । २०७५ सालमा अजय कुमार साह वैदेशिक रोजगारीमा रहेको बेला स्थानीय एक लिखनदाससँग उनले फर्जी कागज बनाउँदै उनको जग्गाजमिन रोक्का गरिदिएको हो ।
साह विदेशमै हुँदा उनीमाथि अदालतमा मुद्दा चलाएर उनको जग्गा जमिन रोक्का गराएको हो । यादवले बनाएको कपाली तमसुकको मिति २०७५ साल भएपनि सो समयमा साह वैदेशिक रोजगारीमा रहेकोले औठाँछाप वा हस्ताक्षर समेत फर्जी गरेको बताईएको छ ।
घर फर्केर आउँदा बहिनी बिहेको लागि जमिन बेच्न खोज्दा जग्गा रोक्का भएको सुनेपछि उनी चिन्तामा डुबे । एक अक्षर नपढेका साहले आफू हस्ताक्षर वा औठा छाप केही नगरेको बताउँछन् । अजयको नागरिकता नम्बर १८२०५०/८९८ भएपनि कपाली तमसुकमा १८२०५०/२७३ उल्लेख गरिएको छ ।
कपाली तमसुकमा उल्लेख गरिएको अजय साहको नागरिकता जारी मिति २०६७ साल ४ महिना २० गते उल्लेख गरिएको छ , जबकी अजयको अरिजनल नागरिकतामा नागरिकता जारी मिति २०७० साल १२ महिना १० गते उल्लेख छ । यस हिसाबले नागरिकता नम्बर, जारी मिति समेत मेल नखाएको अवस्थामा कागज फर्जी भएको पुष्टि हुन्छ ।
सोही विषयलाई लिएर मिटर व्याज सँघर्ष समितिले दुवै पक्षलाई बोलाएर सहमति गराएपनि नक्कली साहु रहेका यादवले फुकुवा गर्न मानेका छैनन् । मिटरव्याज सँघर्ष समितिका उपाध्यक्ष जलाल शेषले पीडित भनिएका अजय कुमार साहले रकम नै नलिएको र कपाली तमसुक समेत फर्जी भएको पुष्टि भएपछि एक रुपैयाँ तिर्नुनपर्ने सहमति भएको थियो । सोही कागजातमा जग्गा जमिन फुकुवा गर्ने भनेर सहमति गरेपनि यादवले फुकुवा नगरिदिँदा साहलाई समस्या भएको छ ।
गत भदौ २९ गते दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा सहमति भएपनि नक्कली साहु यादवले फुकुवा नगरेको गुनासो छ । अहिले अजय कुमार साह न्यायको लागि विभिन्न सँघ सँस्था, कानुनको ढोकामा भौँतारिदैछन् ।
यता, मिटरब्याज सँघर्ष समितिका उपाध्यक्ष शेखले समेत सहमति भएको र साहु भनिने विजय यादवले मनोमानी गरेको बताए । उनले विजयलाई जमिन फुकुवाको लागि पटक पटक भनेपछि उनी लुकेर भाग्ने गरेको बताए ।
अजय साहको १ विघा १ कठ्ठा ५ धुर जग्गा र १८ कठ्ठा खेत रोक्का गरिदिँदा उनी बिच्चलीमा परेका छन् । हामीले अजय यादवसँग नम्बरमा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…