सर्लाहीका यी वडाध्यक्ष जेल चलान
केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए ।

२०८० कार्तिक २२ बुधबार, दिउँसो ३:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेश सर्लाही जिल्लास्थित एक पालिकाका वडाध्यक्षलाई जेल भएको छ ।
धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।
केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । अदालतको आदेश अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्तिहरू फरार रहेका र तीनको खोजी जारी रहेको डिएसपी थारुले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…