४ क्वीन्टल बढी गाँजासहित एक युवक पक्राउ
पक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए ।

२०८० असोज २५ बिहीबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेशको महोत्तरीबाट ४ क्वीन्टल बढी अवैद्य गाँजासहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले २७ पोकामा रहेको ४ क्वीन्टल ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको हो । बुधबार राती जलेश्वर नगरपालिका वडा नं. १ क्याम्पस रोडस्थित फर्निचर अगाडिबाट सो परिमाणको लागुऔषध गाँजा पक्राउ गरेको हो ।
प्रहरीले ना.६ख ७३७४ नम्बर को ट्रकमा लुकाएर राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो । रातीमा खाली ट्रक लिएर घुमिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट नगरपालिकाबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गर्दा मालसामान राख्ने स्थानमा फल्स ठाउँ बनाई लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला पारेपछि ट्रकचालक फरार भएका थिए । सहचालक मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. २ निवासी २२ वर्षीय विशाल थिङ भने पक्राउ परेका छन् ।
पक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए ।
महोत्तरीमा विभिन्न जिल्लाबाट गाँजा आयात भई दशगजा हुँदै भारत प्रवेश गर्ने र स्थानीय बजारमा समेत बेचबिखन हुने जानकारीअनुसार पछिल्लो समय यस्ता गतिविधिउपर महोत्तरी प्रहरीले विशेष निगरानी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…