डाक्टरबीचको विवादले लहान सरकारी अस्पतालको सेवा प्रभावित
न्यूज ब्यूरो, सिरहा, १७ जेठ । डाक्टरहरुबीचको विवादका कारण सिरहाको लहानस्थित सरकारी अस्पतालको सेवा प्रभावित भएको छ । मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाह र मेडिकल अधिकृत अमित चौधरीबीचको विवाद बढ्दै गएपछि रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालको सेवा प्रभावित भएको हो । उनीहरुको विवादका कारण डाक

२०७५ जेठ १७ बिहीबार, बिहान ७:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, १७ जेठ । डाक्टरहरुबीचको विवादका कारण सिरहाको लहानस्थित सरकारी अस्पतालको सेवा प्रभावित भएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाह र मेडिकल अधिकृत अमित चौधरीबीचको विवाद बढ्दै गएपछि रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालको सेवा प्रभावित भएको हो । उनीहरुको विवादका कारण डाक्टरहरुको नियमित काम समेत प्रभावित भइरहेको छ ।
राष्ट्रिय योजना आयोग मार्फत करारमा मेडिकल अधिकृत बनेका डा चौधरी विगत एक वर्षदेखि काजमा लहान अस्पतालमा कार्यरत छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययन गर्ने सोच अनुरुप चौधरीले फारम भर्न गत जेठ ८ गते मेसुसँग अनुभवको सिफारिस मागे । तर, आफूसँगै सिफारिस माग गर्ने डा प्रकाशमान साहलाई सिफारिस दिए पनि आफूलाई नदिएपछि विवाद भएको चौधरीले बताए। डा साह पनि योजना आयोग मार्फत नै सोही अस्पतालमा कार्यरत छन् ।
‘एकै पदमा कार्यरत र एकै पटक उस्तै सिफारिस मागेका प्रकाशले पाए, मलाई दिइएन’, उनले भने, ‘अनुनय–विनय गर्दा पनि सिफारिस गर्न नमानेपछि विवाद भयो।’ विवादपछि कार्यालय सहयोगीलाई लगाएर कुशवाहले आफूमाथि हातपात गराएको आरोप उनले लगाएका छन् । घटनापछि कुशवाह आफैंले इलाका प्रशासन तथा प्रहरी कार्यालयमा फोन गरी हातपात गर्न खोजेको भन्दै झुटा लाञ्छना लगाएको समेत चौधरीले गुनासो गरे ।
मेसु कुशवाहद्वारा सञ्चालित ‘पोलिक्लिनिक’ मा बिरामी रेफर नगरेको बदला लिन आफूमाथि अन्याय र हातपात गरिएको डा चौधरीको आरोप छ ।
‘सरकारी अस्पतालमै ठीक हुने बिरामीलाई रेफर गरेर समस्यामा पार्न मेरो नैतिकताले दिएन र मैले गरिनँ’, उनी भन्छन्, ‘त्यसैको बदला लिन सिफारिस रोक्नेदेखि हातपात गर्नेसम्मको काम भयो ।’
विवाद समाधान गर्न सिडिओ रुद्रप्रसाद पण्डितले दिएको सुझाव समेत नमानी मेसु कुशवाह काठमाडौं हिँडेपछि निमित्त मेसु मुनेश्वरप्रसाद साहले आफूलाई सिफारिस डा चौधरीले बताए ।
डा चौधरीले आफू अन्यायमा परेको भन्दै अस्पतालमा हाजिर गराउने व्यवस्था मिलाइदिन स्वास्थ्य मन्त्रालयमा निवेदन समेत दिएका छन् । सोमबार पठाइएको निवेदनमा आफूमाथि हातपात गर्ने कार्यालय सहयोगीको करार रद्द तथा हातपात गराउने र लाञ्छना लगाउने मेसु कुशवाहलाई कारबाही गर्न माग गरिएको छ ।
चौधरीलाई अस्पतालका दरबन्दीसहितका ९ जना डाक्टरले साथ दिएका छन् । उनीहरुले गत जेठ ९ गते नै स्वास्थ्य सचिवलाई पत्राचार गरी मेसु कुशवाहले गरेका गलत कार्यको छानबिन तथा अविलम्ब निलम्बन गरी कारबाही गर्न समेत माग गरेका छन् ।
मेसु कुशवाहले भने सिफारिसको विषयमा सामान्य असमझदारी भएको बताउँदै समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताए ।
‘हामी प्राय: नेपाली फर्म्याटमा सिफारिस गर्छौं, तर उहाँले अंग्रेजी फर्म्याटमा सिफारिस लिएर आउनुभयो’, उनले भने, ‘मैले त्यसलाई इडिट गरेर लिएर आउन भनेर पोष्टमार्टम गर्न गए। त्यसपछि उहाँले फोनमै धम्की दिन थाल्नुभो ।’ त्यसै विषयमा विवाद बढेको जनाउँदै छलफल मार्फत समस्या समधानका लागि पहल भइरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…