मधेश प्रदेशः जलाउन लागिएको लास प्रहरीले चित्ताबाट उठायो, श्रीमान देवर र ससुरा पक्राउ
सर्लाहीकै कविलासी गाउँपालिका वडा नं. ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो। उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन्।

२०८० असोज ११ बिहीबार, बिहान १०:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सर्लाही जिल्लास्थित जलाउन लागिएको लास प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जलाउनै लाग्दा लासलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले २१ वर्षीया युवतीको लास नियन्त्रणमा लिएको जनाएको छ । मनुषमारा घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि पक्राउ गरेको छ।
रामनगर वडा नं. १ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो चितामा चढाएर जलाउन ठिक्क पारेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।
घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ। घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए। मनिषाको गालामा निलडाम देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी पञ्जियारले बताए।
मनिषाको मृत्यु शंकास्पद देखिएपछि लास नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी पञ्जियारले बताए । उनले बुधबार दिउँसो करिब ३ बजे प्रहरी टोली खैर्बा गाउँ नजिकैको मनुषामारा घाटमा पुग्दा शव जलाउन चिता तयार हुँदै गर्दा चिताको छेउमै राखिएको शव प्रहरीले उठाएर पोष्टमार्टमका लागि मलंगवा लगिएको बताए ।
घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ।
सर्लाहीकै कविलासी गाउँपालिका वडा नं. ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो। उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन्।
डीएसपी पञ्जियारका अनुसार परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन्।
‘आत्म हत्या गरेकै भएपनि पोष्टमार्टमसहित कानुनी प्रक्रिया पूरा गरेर मात्रै शव जलाउनु पर्ने थियो,’ डीएसपी पञ्जियारले भने, ‘छिमेकीले पनि उनको मृत्युमा शंका व्यक्त गरेका छन्। छिमेकीले नै खबर गरेपछि प्रहरी घाटमा पुगेको हो। हामी थप अनुसन्धान गर्दै छौँ।’
बधुबार साँझ युवतीका दाजु पनि प्रहरीको सम्पर्कमा पुगेका छन्। ‘उहाँहरुसँग पनि हामी थप बुझ्छौँ। पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने छ,’ डीएसपी पञ्जियारले भने।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…