जनकपुरमा रँग लगाएर बेच्न राखिएको मासु जफत
जनकपुरधाम उपमहानगरपालिकाका वडा नं २, ४ र १४ मा रहेका १४ वटा मासु पसलको अनुगमनका क्रममा पाँच वटा पसल दर्ता नभएकाले सञ्चालकलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, सबैजसो पसललाई फोहर व्यवस्थापनसहित मापदण्ड पूरा गर्न, मूल्यसूची राख्नेलगायत कैफियत देखिएका विषयको व्यवस्थापन गर्न समय तोकेरै निर्देशन दिइएको पशु चिकित्सक ललितकुमार लालले बताए ।

२०८० असोज ११ बिहीबार, बिहान ८:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चाडपर्व आउन थालेपछि जनकपुरमा बजार अनुगमन पनि प्रत्येक बर्ष झैँ तिव्रबता दिइएको छ ।
बजार अनुगमनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानुनले खान अयोग्य भनिएका रङ प्रयोग गरिएको मासु जफत गरिएको छ ।
बुधबार भएको संयुक्त बजार अनुगमनका क्रममा खसीको मासुको छालामा चम्पाइरङ दलेको पाइएपछि दुई वटा पसलबाट २७ केजी मासु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रतिनिधि प्रमोद बुढाथोकीले जानकारी दिए । उनले बरामद गरिएको मासु प्रयोगशाला परीक्षणका लागि गुण नियन्त्रण कार्यालयमा लगिएको समेत बताए ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सञ्जीवकुमार ठाकुरले मासु राम्रो देखाउने नाममा कानुनले खान अयोग्य भनेका रङहरू छालामा दल्नु गैरकानूनी भएकाले माछा बजार क्षेत्रबाट २७ किलो मासु जफत गरिएको जानकारी दिए ।
“कानुनले भनेका अन्य मापदण्ड पालना नगर्ने समस्या त छँदैछ । मासु राम्रो देखाउने नाममा स्वास्थ्यको दृष्टिकोणले हानिकारक रङसमेत प्रयोग गरेको पाइयो । यस्तो रङ दलिएको मासु खानाले मिर्गौला, फोक्सोमा असर गर्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सङ्क्रमण हुन्छ । त्यसैकारण हामीले सो मासु जफत गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएका छौँ”, डा ठाकुरले भने ।
जनकपुरधाम उपमहानगरपालिकाका वडा नं २, ४ र १४ मा रहेका १४ वटा मासु पसलको अनुगमनका क्रममा पाँच वटा पसल दर्ता नभएकाले सञ्चालकलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, सबैजसो पसललाई फोहर व्यवस्थापनसहित मापदण्ड पूरा गर्न, मूल्यसूची राख्नेलगायत कैफियत देखिएका विषयको व्यवस्थापन गर्न समय तोकेरै निर्देशन दिइएको पशु चिकित्सक ललितकुमार लालले बताए ।
उनले सरसफाइमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिनुका साथै अर्को पटक अनुगमनका बेला सरसफाइ नभए र अन्य निर्देशन पालना नगरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको बताए ।
त्यसैगरी अनुगमन टोलीले जनकपुरधाम– १४ स्थित माँ जानकी डेरीबाट दूध, दही, खुवा र घ्यू प्रयोगशाला परीक्षणका लागि नमुना सङ्कलन गरेर पठाइएको र डेरीलाई पनि ऐन नियममा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका नायब सुब्बा नरेश यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…