जनकपुरः अनलाईनमा विदेशीहरुसँग हनिट्रयाप र यौनधन्दा चलाउने १४ पुरुषसहित ९ युवति पक्राउ
यस गिरोहमा काम गर्नेहरु प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवतीहरु रहेका छन् । आधा दर्जनभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्लैकमेल गर्दै रकम उठाउने कार्य जनकपुरधामबाट सञ्चालन हुँदै आएको थियो ।

२०७९ चैत २० सोमबार, राति ९:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले अनलाइन ठगीको कारोबारमा संलग्न २३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरुले विभिन्न एपमार्फत हनिट्रैप जस्ता धन्धा गर्दै आएको डीएसपी गौतमले बताएका छन् । पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए ।
उनीहरुले अवैधरुपमा विद्युतीय कारोबारमार्फत एक देशमा बसेर अर्को देशका नागरिकलाई विभिन्न एप बनाएर नग्न तस्बिरहरु आदान प्रदान गरी ठगी गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
भारतलगायतका नागरिकलाई आफ्नो जालमा पार्नका लागि विभिन्न एपमार्फत पुरुष तथा महिलालाई हनी ट्रयापजस्ता विभिन्न प्रलोभन दिएर नग्न तस्बिरहरु बनाई ब्ल्याकमेल गर्ने, ऋण लिनका लागि प्रोत्साहन गर्ने र हजारदेखि लाखौँ रुपैयाँसम्म असुल्नका लागि विद्युतिय कारोबारमार्फत धन्धा सञ्चालन गर्दै आएको यस सञ्जाललाई विभिन्न विद्युतीय उपकरणसहित पक्राउ गरिएको डिएसपी गौतमले जानकारी दिए ।
उनीहरुले सञ्चालन गरेको कारोबारस्थलबाट प्रहरीले करिब ३५ थान डेस्कटप कम्प्यूटर, २० भन्दा बढी एन्ड्रोयड मोबाइललगायतका विद्युतीय उपकरणसमेत बरामद गरेको छ ।
उनीहरुले विगत ३ महिनादेखि दिलाजी आइटी कम्पनी काठमाडौँ–८ को नाममा जनकपुरधाममा अवैधरुपमा यस्तो कारोबार सञ्चालन गरिरहेका थिए ।
काठमाडौंमा यस्ता गिरोह पक्राउ पर्न थालेपछि उनीहरु जनकपुरधाममा आएर विदेशीलाई टार्गेट गरि अवैध धन्धालाई अगाडी बढाउँदै आएको थियो ।
जनकपुरधाममा मुख्यरुपमा पर्साको पकहा मैनपुर–५ बस्ने सत्यानन्द राम र धनुषाको सबैला घर भई जनकपुरधाममा बस्दै आएकी सञ्जु साहले यस गिरोहलाई अवैधरुपमा सम्हाल्दै आएको खुलेको छ ।
यस गिरोहमा काम गर्नेहरु प्रायः २० देखि २८ वर्ष उमेर समूहका युवायुवतीहरु रहेका छन् । आधा दर्जनभन्दा बढी युवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्लैकमेल गर्दै रकम उठाउने कार्य जनकपुरधामबाट सञ्चालन हुँदै आएको थियो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…