आज आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य संस्थाको सेवा बन्द
चिकित्सकको आन्दोलनले बिरामी मर्कामा, उपचार सेवामा फर्किन स्वास्थ्य मन्त्रालयको आह्वान

२०७९ माघ २९ आइतबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।
काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र तिनका आफन्त बिहानै टिकट लिन गएका छन् । तर आज ओपीडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा कर्मचारीहरुले उनीहरुलाई फर्काइदिएका छन् ।
शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा आज देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो। चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शनिबार विज्ञप्ति जारी गरी नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको बताएका छन्।
यसैबीच स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन् ।
‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…