मधेश प्रदेशः दिनदहाडै सहकारी कर्मचारीमाथि गोली प्रहार
अज्ञात समूहको गोलि प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० बर्षिय साजन कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको हो ।

२०७९ कार्तिक २ बुधबार, राति ८:४९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित दिनदहाडै एक सहकारी कर्मचारीमाथि गोली प्रहार गरिएको छ ।
सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर १ मिलन चौकमा संचालित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा हतियार देखाएर लुटपाटको प्रयास गरिएको हो ।
बुधबार बिहान १० बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भएर आएका तीन जनाको समूहले कार्यालय भित्रै पसेर नगद लुटपाट गर्न खोज्दा सेवा केन्द्रमा कार्यरत कर्मचारीले प्रतिकार गर्दा उहाँमाथि लुटेराले ४ वटा गोलि प्रहार गरेका छ ।
अज्ञात समूहको गोलि प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० बर्षिय साजन कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको हो ।
प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए । गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका छन् । लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भईनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।
तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता विजय कुमार यादवले जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…