स्वास्थ्य प्रमुख मण्डल र वडाध्यक्ष दास मिलेर सरकारी सम्पति बेच्न लागेको बारे थाहा छैनः सँयोजक यादव
अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा वर्तमान वडाध्यक्ष मनोज दास रहेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित वडाध्यक्ष हुन् । उनले चोरीलुकी सरकारी सम्पति बेच्न लागेको थाहा पाएपछि युवाहरुले विरोध जनाएका छन् ।

२०७९ साउन ६ शुक्रबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको स्वास्थ्य समितिका सँयोजक एवम् वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैत यादवले सरकारी सम्पति बेच्न लागेको जानकारी कसैलाई नभएको बताएका छन् ।
शहिदनगर नगरापालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रको रुख, वृक्ष लगायत अन्य जिन्सी समानहरु बेच्न लागेको सूचना आफूलाई समेत नभएको उनले दाबी गरेका छन् ।
स्थानीय सरकार मातहतमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहाले कुनै निर्णय गर्दा नगरपालिकालाई जानकारी गराउनुपर्ने वा नगरपालिकाको स्वास्थ्य समितिलाई जानकारी गराउनुपर्ने भएपनि सम्पतिहरु बेच्न लागेको सूचना आफूले नपाएको बताएका छन् ।
शहिदनगर नगरपालिकाको स्वास्थ्य शाखालाई समेत सरकारी सम्पति बेचबिखन गर्ने बारेको टेन्डरबारे कुनै जानकारी नभएको सँयोजक यादवले दाबी गरे ।
उनले भने,–“नगरभरिको स्वास्थ्य सँस्थाहरुको लागि समिति छ, त्यसको सँयोजक म छु, अस्पतालले हाम्रो रोहबरमा निर्णय गर्नुपर्ने थियो, निर्णय गरेपनि यस्ता कार्यको लागि कम्तीमा नगरपालिकालाई जानकारी गराउनुपर्ने थियो । तर, अस्पतालको रुख विरुवा काटेर बेच्न लागेको, कुर्शी, टेबुल, बेडहरु बेच्न लागेको कुरा मलाई नै थाहा छैन ।”
वडा नं. ३ का वडाध्यक्ष मनोज दास र प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुमन कुमार मण्डलले सरकारी सम्पति बेचेर रकम झ्वाम्म पार्ने उदेश्यले गोप्य निर्णय गरी गोप्य सूचना जारी गरी आफूहरुलाई जानकारी नगराएको आरोप लगाए ।
अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा वर्तमान वडाध्यक्ष मनोज दास रहेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित वडाध्यक्ष हुन् । उनले चोरीलुकी सरकारी सम्पति बेच्न लागेको थाहा पाएपछि युवाहरुले विरोध जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…