जसपाका प्रमुख सचेतक साहलाई पत्थर प्रहार, टाउकोमा ३० वटा टाँका, रिफर गर्ने तयारी !
ढुंगाले लाग्दा सांसद् साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

२०७८ चैत १२ शनिबार, बिहान ११:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सर्लाही जिल्लास्थित जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद कुमार साहलाई उनकै क्षेत्रमा पत्थर प्रहार गरी घाईते बनाएको छ ।
सर्लाहीको क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य समेत रहेका नेता साहलाई शनिबार (आज) बिहान करिब ९ः३० बजेको समयमा ईश्वरपुर नगरपािलका वडा नं. ६ बयलवासस्थित आक्रमण गरी पत्थर प्रहार गरेको हो ।
त्यहाँ भईरहेको सडक विस्तारको क्रममा दुई पक्षबीच विवाद हुँदा संघीय साँसद साहमाथि पत्थरबाजी, रोडाबाजी गरेको साँसद नजिकका एक जनाले जानकारी दिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रहेका साँसद साहले सडक विस्तारको क्रममा मापदण्ड बमोजिम नै सडक विस्तार हुनुपर्ने तथा त्यहाँ पर्ने घरहरु भत्काउनुपर्ने भनेपछि विवाद चर्केको थियो ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा पक्ष र साँसद साह पक्षबीच झडप हुँदा झडपमा परी साँसद साह गम्भिर घाईते भएका हुन् ।
सो झडपमा परी साँसद साहको टाउकोमा गम्भिर चोट लागेको जनाईएको छ । घाईते भएपछि नजिकै बयलवासस्थित नै रहेको अस्पतालमा उपचारको लागि लैजाँदा उनलाई अस्पतालमा समेत आक्रमण गर्न गएको बताईएको छ ।
अस्पतामा पसेर एमालेका कार्यकर्ताहरुले साँसद साहलाई ज्यानै मार्ने प्रयास गरेको बताइएको छ । साँसद साहसँग रहेको अँगरक्षक (बडिगार्ड) को पेस्तोल खोसेर उनलाई पनि कुटपिट गरी घाईते बनाएको बताइएको छ ।
बयलवासस्थित रहेको एक क्लबको जग्गा बचाउन र केही आफ्ना व्यक्तिको जग्गा जोगाउनको लागि मेयरले अडान लिएपछि साँसद साहले भविष्यमा यहाँ बस स्टेण्ड, रिक्सा स्टेण्ड बने जग्गा नै नहुने बताउँदै सरकारी मापदण्ड अनुसार सडक विस्तार हुनुपर्ने अडान राखेका थिए ।
झडपको क्रममा जसपा पक्षको करिब ५० वटा मोटरसाईकलमा तोडफोड गरिएको छ भने ३ वटा मोटरसाईकल समेत जलाइएको जानकारी प्राप्त भएको छ ।
त्यहाँस्थित फूलजोर–त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने कि बनाउन नदिने भन्ने विषयमा स्थानीय बासिन्दाबीच विवाद थियो ।
ढुंगाले लाग्दा सांसद् साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । साहको वयलबास स्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथमिक उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सांसद् साहलाई मधुमेह लगायत दिर्घ रोग समेत देखिएकाले टाउकोमै गम्भीर चोट लागेको हुँदा यहाँ प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बाहिर रेफर गरिने उक्त अस्पतालले जनाएको छ ।
अहिले प्रहरीले भिडलाई तितरवितर पारेर घटनास्थल नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय वयलबासले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…