जयनगर बर्दिवास रेल्वे : ट्रयाक र प्लेटफर्म धमाधम निर्माण हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, १६ चैत्त । भारतको पाँच रेलवेसँग जोडिने नेपालको पूर्व–पश्चिम रेलवे सञ्जालका लागि जयनगर–जनकपुर खण्डमा स्लिपर र ट्रयाक ओछ्याउन थालिएको छ । जयनगरदेखि जनकपुरसम्म रेलवेको ट्रयाक ओछयाउने काम जारी छ । भारत सरकारले जयनगर– जनकपुर–बर्दिबास खण्डमा रेलमार्गका लागि ट्रयाक र प्लेटफर्मको

२०७४ चैत १६ शुक्रबार, बिहान १०:१४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १६ चैत्त । भारतको पाँच रेलवेसँग जोडिने नेपालको पूर्व–पश्चिम रेलवे सञ्जालका लागि जयनगर–जनकपुर खण्डमा स्लिपर र ट्रयाक ओछ्याउन थालिएको छ ।
जयनगरदेखि जनकपुरसम्म रेलवेको ट्रयाक ओछयाउने काम जारी छ । भारत सरकारले जयनगर– जनकपुर–बर्दिबास खण्डमा रेलमार्गका लागि ट्रयाक र प्लेटफर्मको निर्माण गरिरहेको छ । निर्माणाधीन उत्तर–दक्षिण रेलवेको ट्रयाक बर्दिबाससम्म ओछ्याएपछि पूर्व–पश्चिम राजमार्ग भारतीय रेलवे सञ्जालसँग जोडिनेछ ।
भारत सरकारले निर्माण गरिरहेको जयनगर–जनकपुर– बर्दिबास ६९ किमि रेलवेको दुई खण्डको काम ८० प्रतिशत सकिएको छ । भारतीय रेलवेको ठूलो जक्सन जयनगरसँग जोड्न नेपालमा निर्माण भइरहेको ६९ किमि रेलवे अन्तर्गत ५२ किमिमा स्लिपर र ट्रयाक ओछ्याउन थालिएको छ ।
३४ किमिको पहिलो खण्ड जयनगर देखि कुर्थासम्मको सिभिल कन्स्ट्रक्सनको काम अक्टुबर ( कात्तिक) सम्ममा सक्ने भारतीय निर्माण कम्पनीले जनाएको छ ।
यो खण्डमा रेलवेको स्लिपर र ट्रयाक ओछ्याउन थालिएको छ । रेलवे विभागका इन्जिनियर विनोदकुमार ओझाका अनुसार १८ किमिको दोस्रो खण्ड कुर्थादेखि भंगहा सम्म रेल्वेको सबै निर्माण सकिए पनि स्लिपर र ट्रयाक ओछ्याउन बाँकी छ ।
‘रेलवे निर्माणको करिब ८० प्रतिशत काम सकिएको छ,’ इन्जिनियर ओझाले भने, ‘कहीँ भारतीय रेलवे सञ्जालसँग पूर्व–पश्चिम जोडिँदै कतै अवरोध र समस्या नहुँदा निर्माणले गति लिएको छ ।’ करिब ५२ किमि रेलवेमा पुल, कल्भर्ट, स्टेसन भवन, प्लेटफर्म, कर्मचारी निवासको निर्माण भइसकेको छ । ६९ किमिको रेलवे मार्गमा १ सय १२ पुल र कल्भर्ट निर्माण गर्नुपर्छ । ८० देखि १ सय ३० मिटर फराकिलो बनाइएको रेलवे मार्ग ब्रोडगेज हो ।
‘जयनगरदेखि भंगहासम्म स्लिपर र ट्रयाक ओछ्याउन मात्र बाँकी छ,’ इन्जिनियर ओझाले भने, ‘स्लिपर र ट्रयाक रेलवे मार्गमा झारिएको छ, जोड्न मात्र बाँकी छ ।’ १९९४ मा भारत सरकारले नै निर्माण गरेको जयनगर–बिजलपुरा सम्म ५१ किमिमा रहेको न्यारोगेजको रेलवे मार्गलाई ब्रोडगेजमा परिणत गरिँदै छ ।
रेलवे विभागले भंगहा देखि बर्दिबास सम्मको १७ किमि रेलवेका लागि जग्गा अधिग्रहण गरी भारतीय पक्षलाई हस्तान्तरण गर्न बाँकी छ । १७ किमिमा जग्गा अधिग्रहणका लागि विभागले प्रक्रिया अगाडि बढाएको छ ।
‘जग्गा अधिग्रहणका लागि सूचना निस्केको छ,’ उनले भने, ‘मुआब्जा वितरणपछि अधिग्रहण गरिएको जमिन भारतीय पक्षलाई हस्तान्तरण गरिनेछरु।’ सन् २०१० मा भारत सरकारले ५ सय ४८ करोड भारतीय रुपैयाँमा जयनगर– बर्दिबास रेलवे मार्ग निर्माणका लागि इरकान इन्टरनेसनललाई ठेक्का दिएको छ ।
४ वर्षदेखि निर्माण भइरहेको रेलवे मार्गमा ८ स्टेसन र ६ वटा हल्ट निर्माण गरिएको छ । जयनगर, इनर्वा, खजुरी, बैदेही, कुर्था, खुट्टापिपराडी, भंगहा र बर्दिबासमा भारतीय रेलवे शैलीकै स्टेसन निर्माण गरिएको छ । महिनाथपुर, देउरीपरवाहा, जनकपुर, लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्टको निर्माण गरिएको छ ।
मालवाहक र यात्रुवाहक दुवै सेवा रहने जयनगर–बर्दिबास रेलवेबाट कोलकाता पोर्टबाट समान ल्याउन सहज हुनेछरु। भारतीय निर्माण कम्पनीले अक्टुबर सम्ममा जयनगर–जनकपुरसम्म रेलवेका सबै काम सक्ने जनाएको छ ।
नेपाल र भारतका तत्कालीन राष्ट्रपति बीच भएको सम्झौता अनुसार भारतीय सरकारले नेपालको ५ स्थानमा उत्तर–दक्षिण जोड्ने रेलवेको निर्माण गर्ने सहमति जनाए पनि जयनगर–बर्दिबास खण्डमा मात्रै निर्माण प्रगति उन्मुख छ ।
भारतको ५ रेल्वे जक्सनसँग नेपालमा निर्माण गर्ने भनिएको पूर्व–पश्चिम रेलवे मार्गलाई जोड्न जनकपुरमा जयनगर–बर्दिबास, विराटनगरमा बथनाहा–कटहरी, वीरगन्ज–पथलैया, न्यु जलपाइगुडी–काँकडभिट्टा र बुटवल–सुनौली रेलवे निर्माणमा भारत सरकारले सम्झौता गरेको छ भनेर आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार प्राथमिकताका साथ छापिएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…