महामन्त्रीका उम्मेदवार यादवलाई विजयी घोषणा गरी पुनः पराजित भएको घोषणा गरेपछि बबाल..
हिले मतगणना स्थलमा नरेशका समर्थकहरुले बबाल मच्चाएको छ । निर्वाचन अधिकृत विरुद्ध नारावाजी समेत गर्न थालेका छन् ।

२०७८ पुस ९ शुक्रबार, राति ८:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का जारी नेपाली काँग्रेसको प्रथम महाधिवेशनको क्रममा एक उम्मेवारलाई विजयी घोषणा गरी पुनः पराजित भएको घोषणा गरेपछि बबाल मच्चेको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित जारी रहेको मतगणनको क्रममा मत परिणाम सुनाउँदा सभापतिमा पराजित भएका राम सरोज यादवको तर्फबाट महामन्त्रीमा उम्मेवारी दिएका नरेश यादवलाई विजयी भएको घोषणा गरी केही बेरमै अर्का उम्मेदवारलाई विजयी बनाएको हो ।
मत परिणाम सुनाउँदै गर्दा लिइएको एक भिडियोको क्रममा महामन्त्रीमा उपेन्द्र कुमार यादवलाई प्रथम विजयी र नरेश यादवलाई दोस्रो विजयी घोषणा गरेको प्रष्ट देखिन्छ ।
भिडियोमा मत परिणाम सुनाउँदै गर्दा एक अधिकारीले महामन्त्री तर्फ उपेन्द्र कुमार यादवलाई विजयी घोषणा गर्दै नरेश कुमार यादवलाई समेत महामन्त्रीमा विजयी भएको भनेको सुनिन्छ ।
उनले नरेश यादवको मत गणनाको मत परिणाम सुनाउँदा दक्षिणको कोठामा २८९, बीचको कोठामा ३४ र उत्तरपट्टिको कोठामा ४०१ मत गरी कुल ७१४ मत ल्याएर विजयी भएको प्रष्ट सुन्न सकिन्छ ।
नरेश यादवका समर्थकहरुले विजयी भएको घोषणा हुँदा नै विजयी जुलुसको तयारी गरिरहेको अवस्थामा नरेशको सट्टा केही बेरमै वृहस्पति कुमार श्रेष्ठ विजयी भएको घोषणा गर्दा मतगणना स्थलमा बबाल मच्चेको छ ।
मत परिणाम सुनाउने अधिकारीले सुरुमा नरेश यादव ७१४ मत ल्याएर विजयी भएको घोषणा गरेर पनि धाँधली गरी वृहस्पति कुमार श्रेष्ठलाई २ मतले विजयी गराएको आरोप उनका समर्थकहरुले लगाएका छन् ।
आफ्नो उम्मेदवारलाई विजयी भएको घोषणा गरी धाँधलीपूर्ण तरिकाले अरु जनालाई सुनुयोजित रुपमा जिताएको भन्दै नरेशका समर्थकहरुले आन्दोलन सुरु गरेको छ । उनीहरुले मतगणना स्थलमै बबाल मच्चाउन थालेका छन् ।
यता, निर्वाचन अधिकारि रमेश रिजालले उनीहरुले त्यतिकै हल्ला गरेको दाबी गरेका छन् । रिजालले जो जितेको छ उसैको नाम भनेको र वृहस्पति श्रेष्ठ जितेको दाबी गरे । उनले भिडियोमा पनि सोही कुरा भनेको दाबी गरे ।
अहिले मतगणना स्थलमा नरेशका समर्थकहरुले बबाल मच्चाएको छ । निर्वाचन अधिकृत विरुद्ध नारावाजी समेत गर्न थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…