जनकनन्दिनी गाउँपालिकामा युवाहरुले अनुमानित रकमलाई खर्च भनेर भ्रम फैलायोः अध्यक्ष शेख
यस्तै, ईन्टरनेट खर्चमा मात्र २४ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३१ हजार ८ सय ७० रुपैयाँ मात्र खर्च भएको हो । जबकी सोही रकमबाट चाडपर्व खर्च शिर्षकमा जनप्रतिनीधिहरुले सुविधा पाउँदै मासिक सुविधा सहित कुल ९ लाख ४९ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।

२०७८ मंसिर २ बिहीबार, बेलुकी ७:१७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको अनुमानित रकमलाई जस्ताको त्यस्तै सारेर केही युवाहरुले गाउँभरि नै भ्रम फैलाएको आरोप लगाइएको छ ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखले जनमत पार्टीका कार्यकर्ताहरुले खजुरी, चन्हा, महुवामा रेडबुकको अनुमानित बजेटलाई आधार मानेर खर्च गरेको भन्दै भ्रम फैलाएको बताएका छन् ।
रेडबुकको विभिन्न शिर्षकमा लागि आर्थिक वर्ष २०७७÷०७८ को लागि अनुमान गरिएको बजेटलाई नै प्रिन्ट गरी त्यतिको रकम खर्च गरेको भनेर विभिन्न ठाउँमा पर्चा लगाएको पाइएको छ ।
जनमत पार्टीको गाउँपालिका कार्य समितिले गाउँपालिकाको कार्यालय, बजार, चौक चोराहामा अनुमानित बजेटलाई खर्च गरेको भनेर प्रचारवाजीप्रति आपत्ति जनाएका छन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष शेखले रेडबुकमा प्रकाशित अनुमानित रकमलाई नै आधार बनाएर त्यतिको रकम खर्च गरेको भनेर परचामा लेखिदिएका छन् । जबकी, अनुमानित बजेटबाट कामजति मात्र खर्च गर्न मिल्ने र त्यो भन्दा कम नै खर्च भएको बताए ।
कोरोना महामारीको बेला कोरोनामा खर्चको लागि ३ करोड ६६ लाख ३० हजार रुपैयाँ बजेट अनुमान गरिएको थियो । सोही शिर्षकलाई त्यतिको रकम खर्च भएको भनेर टाँसिदिएका छन् । सो रकम अनुमानित बजेट रकम मात्र रहेको उनले बताए ।
अध्यक्ष शेखका अनुसार, सो आर्थिक वर्षमा असार मसान्त नै प्रकोप व्यवस्थापन कोषबाट कुल ३४ लाख ६८ हजार १ सय ५९ रुपैयाँ मात्र खर्च भएको बताए । उनले रेडबुकमा विनियोजन गरिने रकमको केही प्रतिशत मात्र खर्च भएको बताए ।
कोरोनाको शिर्षक सहित अन्य खर्चहरु मिलाएर कोरोना कालमा कुल खर्च ३४ लाख रुपैयाँ मात्र भएको भएपनि जनमत पार्टीका युवाहरुले ३ करोड ६६ लाख ३० हजार जो की विनियोजन मात्र छन् सोही उतार गरी टाँसिदिएको आरोप लगाए ।
प्रदेश सरकारबाट अनुदान पाएको १० लाख सहित कर्मचारीको पारिश्रमिक, कार्यालय सँचालन खर्च, औषधी खरिद, उद्धार, राहत तथा पुनस्र्थापना खर्च गरी कुल ३४ लाख ६८ हजार १ सय ५९ रुपैयाँ मात्र खर्च भएको बताए ।
जनमत पार्टीका कार्यकर्ताहरुले राहतको लागि विनियोजन गरिएको ४२ लाख रुपैयाँलाई खर्च गरेको भनेर उल्लेख गर्दै पर्चा टाँसेपछि गाउँपालिका अध्यक्ष शेखले राहत उद्धारमा मात्र २४ लाख ९९ हजार २ सय ९३ रुपैयाँ खर्च भएको बताए । सो आर्थिक वर्षको लागि विनियोजित रकमलाई खर्च गरेको भनेर भ्रम फैलाएको शेखले थपे ।
यसका साथै, जनप्रतिनीधि र कर्मचारीहरुले ईन्धनमा मात्र ३३ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेकोमा सो आर्थिक वर्षमा १७ लाख रुपैयाँ खर्च भएको बताएका छन् । प्रदेश सरकारले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सहित कर्मचारीलाई प्रति महिनाको दरले तोकिदिएपछि फजुल खर्च गर्न नपाइने व्यवस्था छ । विनियोजित रकम ४२ लाख रहेकोमा खर्च मात्र १७ लाख भएको बताइएको छ ।
यस्तै, ईन्टरनेट खर्चमा मात्र २४ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३१ हजार ८ सय ७० रुपैयाँ मात्र खर्च भएको हो । जबकी सोही रकमबाट चाडपर्व खर्च शिर्षकमा जनप्रतिनीधिहरुले सुविधा पाउँदै मासिक सुविधा सहित कुल ९ लाख ४९ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
अध्यक्ष शेखले विनियोजित गरिएको रकमलाई उतार गरी सार्वजनिक स्थलहरुमा टाँसेर आम नागरिकमा खर्च भन्दै भ्रम फैलाएकोप्रति आपत्ति जनाए । उनले यस्ता भ्रममा नपर्न सबैमा आग्रह समेत गरे ।
उनले जनमत पार्टीका कार्यकर्ता नेताहरु उर्जाशिल र लगनशिल भएको भन्दै प्रशँसा समेत गरे । उनले डाटा नबुझेर विनियोजित रकमलाई टाँस गरिएको भन्दै यस्ता गतिविधि सुधारको लागि आग्रह समेत गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…