आफ्नै गाउँमा मन्त्री यादवलाई रामधुलाई
उनका अनुसार कुटिएपछि मन्त्री यादव लुक्न प्रहरी चौकी बहेडाबेला पुगेका छन् ।

२०७८ मंसिर १ बुधबार, बेलुकी ५:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवलाई उनकै गाउँमा कुटपिट भएको समाचार प्राप्त भएको छ ।
प्रदेश नम्बर २ को धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा नेपाली काँग्रेसको वडाधिवेशनमा मन्त्री यादवले हस्तक्षेप गरेपछि आफ्नै कार्यकर्ताबाट कुटिएको बताइएको छ ।
मुखियापट्टि मुसरनीयाको वडा नम्बर ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी माइन्युट गरेर मन्त्री यादवले वडाधिवेशन गर्न खोजेपछि विवाद सिर्जना भएको हो ।
मन्त्री यादवले पावरको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट महाधिवेशन गराउन खोजेपछि आफुहरुले अधिवेशन रोक्न खोजेको वडा सभापतिका उम्मेदवार ज्ञानेन्द्र यादवले बताए । मन्त्री यादवले पावर देखाउन खोजेको भन्दै हातपात भएको बताए ।
‘हाम्रा केही कार्यकर्तालाई पार्टीबाट हटाइएपछि हामीले तीन दिनदेखि अधिवेशन रोकेका छौँ । तर मन्त्रीजीले मेरै गाउँ छ जे चाहन्छु त्यहीँ हुन्छ भनेर पावरको भरमा आफ्नो खल्तीका मान्छेलाई सभापति बनाउन खोजेपछि हामीले कुटेका हौँ,’ उनले भने ।
उनका अनुसार कुटिएपछि मन्त्री यादव लुक्न प्रहरी चौकी बहेडाबेला पुगेका छन् ।
सरकारी गाडी लिएर महाधिवेशन गराउन आएको भन्दै स्थानीय काँग्रेस कार्यकर्ताले उनको गाडी समेत घेरेको थियो । यता, धनुषा प्रहरीले मन्त्री यादवमाथि कुटपिट नभएको तथा समान्य झगडा मात्र भएको जानकारी दिएको छ ।
यद्दपी, मन्त्री यादवमाथि कुटपिट भएको कुरा सत्य नरहेको प्रहरी चौकी बहेडाबेलाले जनाएको छ । काँग्रेसका स्थानीय कार्यकर्ताले मन्त्री यादवविरुद्ध अहिले नारावाजी गरिरहेका छन् ।
‘राम सरोज चोर गाउँ छोड, राम सरोज मुर्दाबाद, बिमलेन्द्र निधि जिन्दाबाद’ लगायतका नारा लगाउँदैछन् ।
पार्टीको कार्यक्रममा गएकोले उनी सुरक्षाविहिन भएर सहभागी भएका थिए । सुरक्षा गार्ड बिनै उनी काँग्रेसको कार्यक्रममा पुगेका थिए ।
यस घटनाबारे मन्त्री यादवका स्वकीय सचिव जीवनाथ चौधरीले यसबारे आफूलाई थाहा नभएको जानकारी दिए । उनले बुझेर मात्र भन्न सकिने बताए ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनको क्रममा धनुषा सहित अन्य विभिन्न जिल्लाको विभिन्न वडामा विवाद भएको समाचारहरु आएको छ । नेताहरुले आफ्नै नातागोता, घरबाटै अधिक प्रतिनीधिहरु बनाउन खोजेपछि विवाद सृजना हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…