'यादव' बिरुद्ध विषवमन गर्दै 'ठाकुर' समुहको भेला
निर्वाचन आयोगको निर्णय स्वीकार्ने खालको नभएकाले सर्वोच्च अदालतमा रिट दायर गरेको

२०७८ साउन २४ आइतबार, बिहान ८:४४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको साथ गद्दारी गर्न लागेको आरोप महन्थ ठाकुर पक्षका नेताहरुले लगाएका छन् ।
जनकपुरधामस्थित कलवार कुटीमा शनिवार आयोजित महन्थ पक्षका अगुवा कार्यकर्ता भेलामा बोल्दै नेताहरुले अध्यक्ष उपेन्द्रमाथि आक्रोस पोखेका हुन् ।
बरिष्ट नेता राजेन्द्र महतोले उपेन्द्र यादवलाई सात जन्ममा पनि मधेसी जनताले क्षमा नगर्ने अक्षम्य अपराध गरेको आरोप लगाए ।
उनले भने, ‘मधेसी जनताले पार्टी विभाजन चाहेका छैन । तर उपेन्द्र यादव मधेसको शक्तिलाई विभाजन गर्न खोज्दैछन् ।’ ‘मधेस फोड्न (उपेन्द्र यादवको पार्टी फुटाउन) केपी ओलीले अध्यादेश नै ल्याएका थिए’, उनले भने, ‘तर हामीले कुनै शर्त नराखी उपेन्द्र यादवको पार्टीसँग रातारात एकता गरी जसपा बनाऔं । विश्वलाई देखाइदिऔं कि अब मधेस फुट्दैन । जुट्छ ।’
मधेसीले अधिकार नपाओस् भन्ने शक्तिले विगतमा ३ पार्टीलाई १३ बनाएको र अहिले फेरी जसपा फुटाउन खोजेको उनले आरोप लगाए । नेता महतोले जसपाको निर्माण राष्ट्रिय जनता पार्टी नेपालले गरेको दावी गरे ।
उनले भने, ‘उपेन्द्र यादव जी, सतर्क भइहाल्नुस् । मधेस फुटाउने अपराध नगर्नुस् । तपाईलाई मधेसको राजनीति गर्नु छैन भने फेरी प्रचण्डको माओवादीमा जानुस् । तर मधेसलाई बर्बाद नगर्नुस् ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…