जनकपुरः एमालेका नेता समूहले दलितको घर पसेर कुटे
जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथी आक्रमण गर्ने गरेको

२०७८ साउन २० बुधबार, दिउँसो २:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २० साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाधाममा यादव समूहले दलित समुदायको घरमा पसेर कुटिपिट गरेको छ ।
एमाले नेताको एक समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर मरसान्न हुने गरि कुटपीट गरेका छन् । मंगलबार राति उनीहरुको कुटपीटबाट दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएका हुन् ।
जिल्लाको धनुषाधाम नगरपालिकाका एमाले नेता योग कुमार यादवका आफन्त तथा उनको समूहले कुटपीट गर्दा नगरपालिकाका वडा नं. ४ का दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएको स्थानीयहरुले बताएका छन ।
घाइते हुनेहरुमा श्रीचन महरा, हिरा देवी महरा, ओपिन महरा, उर्मिला महरालगायत छन् । उनीहरुको धनुषाधामस्थित स्थानीय स्तरमा उपचार भईरहेको छ ।
धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु संजय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादवलगायका समूहले घरमै पसेर कुटपीट गरेको घाइते श्रीचन महराले बताए ।
जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथी आक्रमण गर्ने गरेको महराले बताए ।
सामाजिक झैँ–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपीट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।
प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…