करेन्ट लागेर मृत्यू घटनामा गाउँले नेता र एनजिओबालाहरुको घुसपैठ
सो घटनामा दुई जनामाथि अहिले कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया प्रहरीले अगाडी बढाएको छ ।

२०७८ साउन १३ बुधबार, बेलुकी ५:४२ बजे५ मिनेट पढाइ

न्यूज ब्यूरो, १३ साउन । धनुषामा करेन्ट लागेर मृत्यु भएको प्रकरणमा केही स्थानीय राजनीतिकर्मी र केही एनजिओकर्मीहरुले घुसपैठ गरी अनुसन्धानलाई प्रभावित पारेको आरोप लगाइएको छ ।
गत असार ३० गते धनुषाधाम नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रकरणमा झण्डै १५ दिनपछि उनीहरुलाई करेन्ट लगाएर मारेको आरोप लगाएपछि प्रहरीले अनुसन्धानमा त्यस्तो केही नदेखिएको बताएका छन् ।
करेन्ट लागेर मृत्यू भएको घटनाबाट सकुशल बँचेका स्थानीय रामजीवन यादवले आफूहरुलाई करेन्ट लगाएको आरोप लगाएका छन् । उनले आफूहरुलाई करेन्ट बगेको तारमा फालेर मार्न खोजेको आरोप पत्रकार सम्मेलन गरी लगाए ।
सो सन्दर्भमा इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) सुरेश ठाकुरले पत्रकार सम्मेलनको क्रममा उनले लगाएको आरोपहरु अनुसन्धानको क्रममा नदेखिएको बताएका छन् ।
उनले दुवै पक्षबीच सो दिन पुनः झगडा भएको बताउँदै भागमभाग हुँदा धनी यादव, रामजीवन यादव र राजु साह खेततर्फ भागेको थियो । भाग्दा भाग्दै त्यहाँस्थित रामबहादुर मण्डलको खेतमा बाली जोगाउन लगाइएको करेन्ट प्रवाह भएको नाँगो तारमा छोएपछि धनी यादवको करेन्ट लागेर मृत्यू भएको अनुसन्धानबाट खुलेको बताएका छन् ।
त्यहीस्थित रहेको कुखुरा फर्म नजिकै पुनः दुई पक्षबीच विवाद भयो ।प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै प्रहरी ईन्पेक्टर ठाकुरले भने, बाटो छेकेपछि विवाद हुँदा धक्कामुक्की हुँदै झगडा भयो । झगडाको क्रममा यादवद्धयसहित उनका साथीहरु पनि भागमभाग भयो । उनको साथीहरु अन्य दिशातर्फ भागेका थिए भने यादवद्धय र राजु साह रामबहादुरको खेततर्फ भागेका थिए । सोही क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर मृत्यू भएपछि घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाउँदा बर्षाको कारण जमिन भिजेको हुनाले तारमा मान्छे फाल्ने व्यक्तिलाई स्वयँ पनि करेन्ट लाग्नुपर्ने देखिएपनि त्यस्तो नभएको बताए ।
प्रहरीको अनुसन्धानमा के देखियो ?
घटना भएको समयमा जमिन पूर्णरुपमा भिजेको थियो । खेतमा रहेको नाँगो तारले त्यहाँ नजिक जाने व्यक्तिलाई पनि करेन्ट लाग्ने उत्तिकै सम्भावना थियो । यीनीहरुलाई बेहोस गरी तारमा फालिएको कुनै तुक देखिएनन् । यीनीहरुले आफूहरुलाई कुटपिट गरी बेहोस पारेको सन्दर्भमा त्यसको आसापास त्यस्तो कुनै पनि प्रमाण देखिएनन् ।
बेहोस पारेर तारमै फालेको भए बाँच्नुको सम्भावना पनि कम हुन्थ्यो । धनी यादवलाई करेन्ट लागेर तत्कालै मृत्यू भयो भने रामजीवनलाई तारले झटका दिएपछि पर फालेको हुन सक्ने अनुमान गरिएको छ ।
खेतमा बँदेल धपाउनको लागि तार लगाएको आरोपमा खेत धनी रामबहादुर मण्डललाई पनि नियन्त्रणमा राखिएको छ । अहिलेसम्म सो घटनामा आरोपित बलदेव मण्डल र रामबहादुर मण्डललाई हिरासतमा राखी अनुसन्धान जारी राखेको छ ।
ईन्सपेक्टर ठाकुरले, अहिले पनि अनुसन्धान जारी रहेको भन्दै यसबाट दोषी ठहरिने आरोपितहरुलाई कानुनी दायरामा ल्याउने जनाए । उनले अहिले घटना अनुसन्धानकै क्रममा रहेकोले यकिनका साथ केही पनि भन्न नमिल्ने बताए । अनुसन्धान अहिले पनि जारी रहेको छ भने घटनामा सँलग्न देखिनेहरुलाई कानुनी दायरामा ल्याइने बताए ।
राजनीतिकर्मी र एनजिओबालाहरुलाई मौका
यस घटनामा एक युवकले ज्यान गुमाए । सो आरोपमा दुई जना पक्राउ पनि परे । तर घटनालाई बँग्याएर पुरानो रिसबी साध्नको लागि केही राजनीतिकर्मी (गाउँले नेता) र केही एनजिओकर्मीहरु मिलेर घटनालाई अर्कै तर्फ मोडन खोजिरहेको आरोप छ ।
यस घटनामा मृत्यू भएका परिवार सहित घाईते भएका परिवारलाई राजनीतिकर्मीहरुले उचालेर यही मौकामा आफ्ना अन्य पुरानो दुश्मनीलाई पनि सिद्ध गर्ने मौका पाएको छ । गाउँले नेताहरुले दुश्मनी सिद्ध गर्नुका साथै आर्थिक चलखेलमा समेत लागेको बुझिएको छ ।
प्रहरीले अनुसन्धान गरिरहेको घटनामा जाहेरीको लागि प्रत्येक पटक नाम परिवर्तन गरी, नाम थपघट गरी प्रतिवादीहरुको नाम आउन थालेपछि प्रहरीलाई शँका उत्पन्न भएको छ । यसले कसैलाई बचाउन र कसैलाई फँसाउन खोजिएको प्रष्ट भएको इन्सपेक्टर ठाकुरले बताए ।
सो घटनामा एनजिओकर्मी सरोज राय लगायत स्थानीय नेताहरुले सो मुद्दालाई बँग्याउन खोजेको आरोप छ । ज्ञातव्य छ, आफूलाई अभियन्ता भन्ने सरोज रायमाथि उमेश बचाउ अभियानको करिब ६० लाख रुपैयाँ झवाम्म पारेको आरोप छ ।
मृत्यूको घटनामा पनि जातीय कार्ड
मृतकको घरमा मातम, शोक भएपनि गाउँले नेताहरुले उनको परिवारलाई राहतले बस्न दिएनन् । कहिले जाहेरीको नाममा त कहिले न्यायको नाममा उनीहरुलाई परेशान नै परेशान गर्दै गए । कसलाई फँसाउने कसलाई उम्काउने खेल सुरु गरेका स्थानीय राजनीतिकर्मीहरुले नै आफू अनुसार प्रतिवादीहरुको नाम थपघट गरी प्रहरी कहाँ बुझायो । तर, लगातर नाम थपघट गरी जाहेरी कैयौँ चोटी पठाएपछि प्रहरीलाई अनुसन्धानमा समेत खलल पुगेको बताइएको छ ।
घटनापछि व्यक्तिगत र आर्थिक लाभको लोभमा केही स्थानीय नेताले जातीय कार्ड खेलेको आरोप पनि छ । केहीसँग जातीय मुद्दा बनाएर जाहेरीमा नाम दिएको छ भने केहीलाई व्यक्ति दुश्मनी सिद्ध गर्नको लागि घटनामै सँलग्नता नै नभएको व्यक्तिहरुलाई प्रतिवादी बनाइएको छ ।
एउटै घटनाको लागि तीन चार जनाले जाहेरी लिएर प्रहरीमा गएपछि प्रहरीलाई असहज भएको छ । तीनीहरुले एउटै घटनाको जाहेरी भने फरक फरक प्रतिवादी बनाएर गएपछि प्रहरीलाई शँका लागेपछि केहीलाई उम्काउन र केहीलाई फँसाउन खोजेको बुझिएको छ ।
उनले घटनालाई बँग्याउन खोज्ने र अनुसन्धानलाई प्रभावित पार्न खोज्ने पात्रलाई नियालिरहेको भन्दै निर्दोष फँसाउन खोज्ने पनि कानुनी दायरामा आउने बताए ।
के मुद्दाको अवस्था ?
सो घटनामा दुई जनामाथि अहिले कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया प्रहरीले अगाडी बढाएको छ । प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको क्रममा पनि केही नेता र एनजिओबालाहरुले घटनालाई अतिरँजित बनाउन खोजेको आरोप इन्सपेक्टर ठाकुरले लगाए ।
उनले भने, हामीले मुद्दा नचलाएको, मुद्दा दर्ता नगरेको भए हामीलाई दोष दिन्थ्यो , तर घटनाको भोलीपल्ट नै मुद्दा चलाएर अनुसन्धान अनुसार अन्य प्रतिवादीहरुलाई खोज्ने कार्य जारी रहेको बेला प्रहरीले केही नगरेको भन्नु व्यक्ति स्वार्थ र व्यक्तिगत फाईदाको लागि मात्र सस्तो लोकप्रियता खोजेको पनि आरोप लगाए । उनले पोष्टमार्टमको रिपोर्ट आएपनि मात्र थप कुरा भन्न मिल्ने बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…