जनकपुरः श्राद्धको भोज खान गएका युवक मृत फर्किए, सिँगो टोल नै शोकमा
दिपेशको लासको प्रकृति हेर्दा उनको टाउकोमा इटले प्रहार गरिएको देखिएको थियो ।

२०७८ साउन ९ शनिबार, बिहान ८:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काकीको घरमा श्राद्धको भोज खान गएका एक युवक मृत भेटिएपछि सिँगो टोल नै शोकमा डुबेको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ९ केउटानी टोल बस्ने सतिस नारायण साफी रजक को २१ बर्षिय छोरा दिपेश साफी मृत भेटिएपछि सिँगो टोल शोकमा डुबेको हो ।
गत असार २७ गते भारतको मथौर कटैयास्थित नातामा काकी पर्ने आफन्त कहाँ श्राद्धको मृत्यूभोज खान दुई साथीसँग गएका दिपेश पुनः जिवित फर्केर आएनन् ।
मोटरसाईकलमा बसेर स्थानीय दुर्गा साफी र रँजीत मण्डलसँग भोज खान गएका दिपेश भारत बिहारको मथौरदेखि केही दुरीमा छतौनी पञ्चायतस्थित बछराजा नदीमा मृत फेला परेको थियो ।
सोही दिन बेलुकी ९ बजे तीनै जना उनको काकीको घरमा मृत्यूभोज खाएको पुष्टि उनको आफन्तजनले गरेको छ भने त्यहाँबाट भोज खाएर गाउँ फर्किन लाग्दा बाटोमै उनलाई मारेर फालिएको उनका बुवा सतिशनारायणले बताए ।
दुर्गा र रँजीतसँगै गएका दिपेश सम्पर्क विहिन भए । उनीहरु दुवै जना घर फर्के पनि दुई तिनदिनसम्म सम्पर्क विहिन भएको दिपेशलाई खोजतलास सुरु गरिएको थियो । तर, भेटाएनन् ।
उनीसँग गएका दुर्गा र रँजीतलाई सोध्दा आफूहरु यदुकूहामा उनलाई मोटरसाईकलबाट झारिदिएको प्रतिक्रिया दिएको उनको बुवाले बताए । तर, दिपेशको लास ४ दिनपछि मथौरदेखि केही दुरीमा छतौनी पञ्चायतस्थित बछराजा नदीमा बेबारिसे भेटिएको थियो ।
यहाँबाट खोजतलासको लागि निस्केका आफन्तजन र परिवारले भारतको मथौरस्थित दिपेशको मृत लासलाई वेवारिसे भन्दै भारतको प्रशासनले पोष्टमार्टमको लागि मधुवनी अस्पताल लगेको थियो । परिवारजनले दिपेशको लासको पहिचान गरी नेपाल ल्याएको बताइएको छ ।
दिपेशको लासको प्रकृति हेर्दा उनको टाउकोमा इटले प्रहार गरिएको देखिएको थियो । उनको अनुहारलाई किचेको भएपनि उनको एक दाँत बालउमेरमै झरेको अनुसार र टिसर्टले पहिचान भएको उनको बुवाले बताए ।
दीपेश वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्र नेपाल फर्किएका थिए । उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । दिपेशलाई मारेर फालिएको उनको बुवाले आरोप लगाउँदै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
दिपेशको लास ल्याएपछि रँजीत मण्डलको दाजुलाई इलाका प्रहरी कार्यालय यदुकूहाले पक्राउ गरेको थियो । उनलाई पुनः छाडिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…