रकम असुली गरेका प्रहरी ईन्चार्ज यादव सहित यी ११ प्रहरी जिल्ला तानिए
निषेधाज्ञामा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई दुई हजार रुपैयाँसम्म लिने गरेको

२०७८ साउन ६ बुधबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ६ साउन । रकम असुलीमा संलग्न रहेको आशंकामा बाराको पथलैयास्थित प्रहरी चौकीमा कार्यरत सबै प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।
प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादव सहित त्यहाँ कार्यरत ११ जनाको टोलीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो ।
उनीहरुको ठाउँमा ११ जनाको नयाँ टोली खटाइएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए । प्रदेश ट्राफिक कार्यालय माथि पनि छानबिन सुरु भएको प्रहरी स्रोतले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय पथलैयामा भने केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान गर्ने भएको छ ।
राजमार्गको व्यस्त चोक पथलैयामा दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको चेकजाँच गर्दै आएका छन् ।
अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगायत संवेदनशील विषयको चेकजाँच छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको गुनासो माथिल्लो निकायसम्म पुगेको थियो ।
निषेधाज्ञामा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई दुई हजार रुपैयाँसम्म लिने गरेको यातायात व्यवसायीहरु नाम उल्लेख नगर्ने शर्तमा बताउँछन् ।
दुवै चेक पोस्टले गैरकानुनी रुपमा शुल्क लिएपछि यातायात व्यवायीले त्यो रकम सर्वसाधारणबाटै असुल्दै आएका थिए । यात्रुले चर्को भाडादरमा यात्रा गर्नु परिरहेको गुनासो गर्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…