मिथिला नगरपालिकाका मेयर महतो विरुद्ध उत्रे स्थानीय, लगाए 'मुर्दाबाद' को नारा
प्रवेशद्वारमा बनाइएको स्वागत गेट तोडफोड गर्दै राजमार्ग सञ्चालनमा अवरोध र्पुयाएका थिए ।

२०७८ असार १० बिहीबार, राति ८:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो विरुद्ध सयौंको सँख्यामा गएका स्थानीयहरुले मुर्दाबादको नारा लगाएका छन् ।
विहिबार भएको आठौ नगरसभाको क्रममा उनको कार्यप्रति असन्तुष्ट भएका नागरिकहरुले चर्को नारावाजी गरेका हुन् । नगरसभा भित्र भईरहँदा मोटो सँख्यामा आएका स्थानीयहरुले मेयर हरिनारायण महतो विरुद्ध मुर्दाबादको नारा घन्काएका थिए ।
बिहिवार ढल्केवरस्थित राधाकृष्ण सामुदायिक मन्दिरमा आयोजित नगरपालिकाको आठौं नगरसभा सुरक्षा घेराबीच सम्पन्न भएको हो ।
ढल्केवर किटान गरेर आएको ट्रमा सेन्टरको योजना अन्यत्र सार्न खोजेको भन्दै उत्पन्न भएको विवादले उग्र रुप लिएपछि नगरसभा स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बिहिवार नगरसभा सुरु भएलगत्तै ढल्केवरमै ट्रमा सेन्टर निर्माणको लागि निर्णय गरेर सिफारिसको माग गर्दै स्थानीयहरु नगरसभा स्थल पुगेपछि तनाव उत्पन्न भएको थियो ।
नगरसभा स्थल पुग्नुभन्दा अगावै प्रहरीले सुरक्षा घेरा हालेर उनीहरुलाई रोकेका थिए । तर नगरप्रमुख विरुद्ध चर्को नाराबाजी गर्दै विरोधमा उत्रिएका स्थानीयहरु प्रहरीको घेरा तोड्दै अघि बढेपछि प्रहरी र स्थानीय प्रदर्शकारीबीच सामान्य झडप भएको थियो ।
उनीहरु नगरसभा चलिरहेको सभाहल बाहिर नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । स्थानीयको प्रदर्शनपछि आवेशमा आएका नगरप्रमुख महतो स्थानीयमाथि नै तम्सिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।
यद्धपि प्रहरीको कडा सुरक्षा घेराबीच नगरसभा निरन्तर चलिरह्यो । नगरसभा बाहिर नाराबाजी गर्दै प्रदर्शन भइरहेको बेला नगरसभाम सांस्कृतिक कार्यक्रम गराएको भन्दै स्थानीहरु थप आक्रोशित बनेका थिए ।
स्थानीहरुको प्रदर्शनलाई नगरसभामा उपस्थित जनप्रतिनीधिले कुनै प्रतिक्रिया नजनाएपछि आक्रोशित बनेका स्थानीयहरु नगरसभाको प्रवेशद्वारमा बनाइएको स्वागत गेट तोडफोड गर्दै राजमार्ग सञ्चालनमा अवरोध र्पुयाएका थिए ।
केहि बेरको राजमार्ग अवरुद्ध पश्चात प्रहरीले बल प्रयोग गर्दै खुलाएका थिए । राजमार्ग खुलाउन स्थानीय प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीको लाठी चार्जबाट केहि प्रदर्शनकारी सामान्य घाइते भएको ट्रमा सेन्टर बचाउ संघर्ष समितिका संयोजक बुधेश्वर महतोले जानकारी दिए ।
ट्रमा सेन्टर तोकिएकै स्थानमा कायम नगरेसम्म आन्दोलन नरोकिने संघर्ष समितिका अर्का संयोजक चन्देश्वर महतोको भनाई छ । ढल्केवरका लागि आएको ट्रमा सेन्टर अन्यत्र सार्ने विषयमा कुनै सम्झौता नहुने स्थानीयहरुको अडान छ ।
नेपाल सरकारले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्ष २०७८०७९ मा बजेट छुट्याएको छ । गएको जेष्ठ १५ गते नेपाल सरकारले ०७८र०७९ को लागि जारी गरेको प्रस्तुत बजेटमा ढल्केवरलाई किटान गरेर ट्रमा सेन्टर निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
बजेट विनियोजनपछि यहाँका बासीमा बर्षौदेखिको सपना पुरा भएको भन्दै राम्ररी खुशियाली साटासाट गर्न नपाउँदै ट्रमा सेन्टर अयन्त्र सार्न लागेको खबर बाहिरिएपछि स्थानीयबासी नगर प्रमुख महतोप्रति क्रुद्ध बनेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…