रँगभेदी सोंच

मधेशी भनेर हेप्दै ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई 'झा' को साँच्चै सरुवा

त्यसबेला ड्युटीमा रहेका झा उक्त घटना भएको एक साता नवित्दै महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सरुवा भएका छन् ।

२०७८ असार २ बुधबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै थर्काएको सुनिन्छ । उनले एक असईलाई ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी छन् । र, ती असईको साँच्चिकै सरुवा भएको छ ।

घटना झण्डै एक महिनाअघिको हो । थर्काउने अभियन्ता हुन् ज्वाला संग्रौला । सामाजिक सञ्जालमा चर्का स्टाटस लेखेर ‘भाइरल गर्ल’ का रूपमा चिनिएकी उनी अहिले विभिन्न स्थानमा राहत वितरणमा व्यस्त छिन् । राहत बाँड्न जाने सिलसिलामा महाराजगञ्जमा उनको प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग लफडा भएको थियो ।

 

त्यसबेला ड्युटीमा रहेका झा उक्त घटना भएको एक साता नवित्दै महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सरुवा भएका छन् ।

घटनालगत्तै साँच्चै दबाबमा सरुवा गरिएको हो ? भन्ने प्रश्नमा इन्सपेक्टर श्रेष्ठले त्यसलाई नकारे । नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको उनको जवाफ छ । तर, झा सो वृत्तमा आएको करिब ६ महिनामात्रै भएको थियो ।

श्रेष्ठ भन्छन्, ‘म पनि सरुवा भएर आएको धेरै भएको छैन । एक महिना जति मात्र भयो । मलाई त नियमति सरुवा नै होला भन्ने लागेको छ । विस्तृत रूपमा बुझ्न पाएको छैन ।’

ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा सरुवा भएर आएको करिव ६ महिनामात्र पुगेको थियो । उनको कार्यसम्पादन राम्रो रहेको र इन्सपेक्टर रविन्द्रकुमार श्रेष्ठले पनि रुचाएको स्रोतको भनाइ छ ।

तर, घटना भएलगत्तै काजसरुवा भएको जानकारी महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई आयो । जानकारी पाएपछि इन्सपेक्टर श्रेष्ठले रोक्न पनि खोजेका थिए ।

‘तर माथिबाट दबाब आएको हो कि के हो, इन्स्पेक्टर सा’बको पनि केही लागेन,’ स्रोतले भन्यो ।

के थियो विवाद ?

महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका इन्स्पेक्टर श्रेष्ठका अनुसार महाराजगञ्जमा प्रहरीले चेकिङका लागि उनी चढेको मोटरसाइकल रोकेपछि विवाद भएको हो ।

उनले घटना विवरण यसरी सुनाए :-

‘उहाँहरू राहत बाँड्नका लागि नुवाकोट हिँड्नुभएको थियो बाइकमा । उहाँहरूसँग सवारी पास थिएन । अरु कुनै परिचयपत्र पनि थिएन । लाइसेन्स समेत रहेनछ । केही कागजात नभेटेपछि ड्युटीमा खटिएका साथीहरूले बाइक होल्ड गर्नुभयो ।

बाटोमा रोकिएपछि उहाँहरू आवेशमा आउनुभयो । अहम्ताले पनि होला अलिकित बढी नै बोल्नुभयो । हामीले राहत बाँड्न पनि नपाउने ? भन्दै ड्युटीमा रहेका साथीहरुलाई दुर्व्यवहार पनि गर्नुभएछ । म पनि पछि त्यहाँ पुगेको थिएँ ।

उहाँहरूले ड्युटीमा भएका साथीहरूले आफूमाथि हातपात गर्नुभएको मलाई बताउनुभयो । तर, मैले राम्रोसँग अनुसन्धान गर्दा हातपात गरेको पाइनँ । उल्टै हाम्रो ड्युटीमा भएका साथीहरुमाथि नै दुर्व्यवहार गर्नुभएको छ ।

घटना हुँदा उहाँहरूले भिडियो पनि खिचिरहनुभएको रहेछ । तपाईंले त्यो सामाजिक सञ्जालमा रहेको भिडियो पनि देख्नुभयो होला । त्यसमा सबै कुरा स्पष्ट छ । हातपात भएको भए भिडियोमा देखिनुपर्ने हो । त्यो हामीलाई देखाए जुनसुकै कारवाही भोग्न पनि तयार छौ ।’

उनीहरूले बर्दीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भए किन कारवाही गर्नुभएन त ? भन्ने प्रश्नमा इन्स्पेक्टर श्रेष्ठ यसो भन्छन्ः-

‘जे हुनु भइहाल्यो । हामीले यसलाई त्यति ठूलो रूपमा लिएनौं । घटना भएको पनि करिव एक महिना पुग्न थालिसकेको छ । हामीले त त्यो घटना बिर्सिसकेका थियौं । यहाँहरूजस्तै पत्रकार साथीहरूले अहिले बुझ्न खोज्नुनुभएपछि सम्झिने हो । नभए हामी नियमित काममा खटिएका छौ । सानातिना घटना हुन्छन्, त्यसलाई हामी त्यति ठूलो रूपमा लिदैँनौ । यसलाई त्यति ठूलो विषय बनाइरहनुपर्दैन भन्ने मलाई लाग्छ ।’

आक्रमक अभियन्ता, विनयी इन्सपेक्टर

प्रहरी चौकीभित्रै खिचिएको भिडियोमा ज्वालाको समूह र प्रहरीहरुबीच विवाद भएको देखिन्छ । इन्स्पेक्टर श्रेष्ठले भने विनम्र बन्दै सम्झाउने कोसिस गरेका छन् ।

‘ज्वाला संग्रौला को हो थाहा छ कि छैन ? नाम सुनेको छ ? सञ्जाल हेर्ने गरेको छ ? तपाईंको आईजीपीले सम्मान गर्ने मान्छे हो,’ एक युवक भन्छन् ।

अर्का व्यक्ति (सम्भवत: चालक) को स्वर सुनिन्छ, ‘मलाई कारवाही गर्नुस्, मैले -कागज) बोकेको थिइनँ । तर त्यसलाई पनि कारवाही गर्नुस् जसले मुख छोडेको छ । ड्यूटीमा बसेर त्यसरी मुख छाड्न पाइँदैन । मासाले भन्न पाइन्छ ?’

अर्को पुरुष स्वरले भन्छ, ‘यो ट्राफिकमा बसेर देशका लागि पाँच वटा राम्रो काम के गर्नुभयो ? किन जागिर खाएको ?’

प्रेस ज्याकेट लगाएको एक व्यक्ति पनि छन् । उनले कस्तो बेलामा भिडियो खिच्न पाइन्छ कस्तोमा पाइन्न भन्ने सिकाउने प्रयास गरेका छन् ।

असई झाले भने आफ्नो भिडियोको दुरुपयोग भयो भने साइबर क्राइमको कुरा गरेको प्रष्टीकरण दिन्छन् ।

ज्वाला भन्छिन्, ‘यस्तो मान्छे हामीलाई चाहिँदैन । उहाँलाई सरुवा एनि हाउ गराउँछौं । तपाईं यो एरियामा चाहिँदैन । अरु सब ठीक छ तपाईं चाहिँदैन । तपाईंलाई धेरै दिन बस्न दिँदैनौं ।’

विवाद साम्य पार्ने क्रममा इन्स्पेक्टरले ज्वालाको समूहसँग माफी मागेका छन् ।

‘आजको घटनामा जेजस्तो भयो, म इन्चार्जको हिसाबले प्रहरीबाट भएको गल्तीका लागि माफी माग्छु,’ उनले भनेका छन्, ‘मासाला भनेको जस्तो चाहिँ लाग्दैन ।’

ज्वालाले मुख छोड्ने प्रहरी अर्कै भएको बताउँछिन् ।

ज्वाला भन्छिन्, ‘मुख छोडेको हिसाबकिताब गर्नुपर्छ । मेरो पनि दाजुभाइ प्रहरीमा हुनुहुन्छ । हामीसँग लाइसेन्सको फोटोकपि छ, बिल बुक छ भन्दा म एक-एकलाई साइबर क्राइममा ठेगान लगाइदिन्छु भन्ने ?’

‘हामी भोकभोकै राहत बाड्ँन हिँडेका छौं । मलाई साइबर क्राइममा जेल हाल्दा देश बन्छ भने ५० वर्ष जेल हाल्नुस्’, उनले भनेकी छन् ।

अन्तिममा ज्वाला भन्छिन्, ‘उहाँलाई हामी यहाँ बस्नै दिँदैनौं, एनि हाउ सरुवा गर्छौैं ।’

अनि अर्का व्यक्तिले असइको नाम सोध्छन् । नाम मणिकान्त झा भनेपछि उनी भन्छन्, ‘झा जी रैछौ, उतै मधेसतिर जाउ अब । आफ्नै घरतिर सजिलो पनि हुन्छ । खेतिकिसानी गरेर खाउ ।


यो समाचार नेपाल प्रेस अनलाईनमा पत्रकार केशव भुलले लेखेका छन् । 
समाचारको अरिजनल लिँकः अभियन्ताले ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका असई साँच्चै सरुवा – Nepal Press

  • 0%
  • 1%
  • 1%
  • 1%
  • 10%
  • 86%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७८ असार २ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus