महाराजगञ्ज चोक हुँदै ट्राफिक कार्यालयसम्म
काठमाडौंको महाराजगञ्ज चोकबाट यो घटनाको सुरुवात भएको रहेछ। चोकबाट सुरु भएको विवाद महाराजगञ्जको ट्राफिक प्रहरी कार्यालयसम्म पुग्दा भिडियोसहित बाहिरिएको पाइएको छ। भिडियोमा देखिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्रकुमार श्रेष्ठ हुन्। घटना गत जेठ ११ गतेको हो।
महाराजगञ्ज चोकमा असई मणिकान्त झा ड्युटीमा खटिएका थिए। त्यहीबेला गाडीमा ज्वाला संग्रौला, सर्मिला वाइवासहितको टोली आयो। उनीहरुले आफूलाई सामाजिक अभियन्ता भएको दाबी गरेका छन्। इन्स्पेक्टर श्रेष्ठका अनुसार निषेधाज्ञाको समय भएकाले असई झाले उनीहरुसँग पास मागेका थिए। तर, उनीहरुले पास देखाउन सकेनन्। त्यसपछि झाले लाइसेन्स मागे। लाइसेन्स समेत देखाउन नसकेपछि उनीहरुको गाडी साइड लगाएर रोक्न भने। त्यसपछि उनीहरुले आफूलाई रोकेको भन्दै प्रहरीसँग विवाद गरे। अनि वादविवाद बढ्यो। प्रहरीले गाडी 'होल्ड' गर्न लगाएपछि उनीहरुले प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको इन्स्पेक्टर श्रेष्ठ बताउँछन्।
संग्रौलाको टोलीले असई झाले साइबर मुद्दा लगाउँछु भनेको र ‘...साला’ भनेर अपशब्द बालेको आरोप लगाएका छन्। तर, झाले आफूले त्यस्तो शब्द बोल्दै नबोलेको र संग्रौलाको टोलीले त्यसबेलाको भिडियो समेत खिचेकाले भिडियोमा देखाउन चुनौती दिएका छन्।
‘गाडी रोकेपछि उहाँहरुले भिडियो खिच्नु भयो। जथाभावी भिडियो खिच्ने, त्यसको दुरुपयोग भयो भने साइबर मुद्दा लगाउँछु भनेको हो। ‘...साला’ भनेको छैन’, सार्वजनिक भएको २५ मिनेटको भिडियोमा संग्रौलाकै अघि असई झाले भनेका छन्।
फेरि संग्रौलाको टोलीले त्यसरी मुख छाड्ने व्यक्ति अर्कै हुन् भनेको सुनिन्छ।
‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाएँ भनेर ठूला कुरा गर्ने होइन नि फेरि! तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। तपाईंले यो तरिकाले डिल गर्ने? म ठेगान लगाइदिन्छु, म के हो भन्ने देखाइदिन्छु’, प्रहरी कार्यालयमै गएर बर्दीका प्रहरीलाई ज्वाला संग्रौला र उनको टोलीले यसरी धम्की दिएको देखिन्छ।
आफू मातहतको प्रहरीबाट गल्ती भएको भए सच्याउन तयार भएको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै इन्सपेक्टर श्रेष्ठले भने सम्झाउने प्रयास गरेका छन्। तर, यतिले पनि उनीहरुको रिस कम हुँदैन। ‘जागिर खाएर के राम्रो काम गर्याै? पाँच वटा काम भन्नुस्। उहाँलाई एनिहाउ सरुवा गर्नुपर्छ। यस्तो मान्छे हामीलाई चाहिँदैन। यो एरियामा तपाईं चाहिँदैन’, असईलाई सरुवा गराउने भन्दै उनीहरुले यस्तो भनेको भिडियोमा सुनिन्छ।
'अनलाइन न्यूज' युट्युब च्यानल प्रहरीसँगको विवादको भिडियो खिच्न प्रहरी कार्यालयमै पुगेपछि मिडियाको धम्की दिँदै संग्रौलाले असई झालाई भन्छिन्, ‘म पनि मिडिया ल्याउँछु भनेको होइन। हाम्रो आयो त। खै तपाईंको मिडिया ल्याउनुस्, छ हिम्मत ल्याउनुस्।’ उनको यो भनाईबाट प्रहरीसँग विवाद गरेपछि युट्युब च्यानलका प्रतिनिधिलाई क्यामरासहित प्रहरी कार्यालयमा बोलाएको र क्यामराको अगाडि प्रहरीको हुर्मत लिन खोजेको प्रष्ट हुन्छ।
‘हामीलाई पनि कारबाही गर्नुपर्यो, तर हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं। सरुवा एनिहाउ हुनु पर्यो। सरुवा एनिहाउ हामी गर्छौं। कुरा त्यति हो। ल जा’, संग्रौलाले भनेको सुनिन्छ।
अनि नाम सोधेर रंगभेदी व्यवहार र अपमान
यतिसम्म कुराकानी उनीहरुको विवादको विषयमा थियो। त्यसपछि प्रहरी कार्यालयबाट छुट्टिने बेलामा उनीहरुले आफूसँग विवाद भएका असईको नाम सोध्छन्। त्यसपछि उनले भन्छन्, 'मेरो नाम मणिकान्त झा।'
त्यसपछि भने आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेले नै समाज विक्षिप्त हुने खालका हर्कतसहितको अभिव्यक्ति दिन्छन्, ‘झा, ...तपाईं मधेसी। ... तिर जाउ अब, उता मधेसतिर। खेती किसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ। उतै जाउ अब।’
प्रहरी कार्यालयभित्रै प्रहरीमाथि यस्तो व्यवहार गर्नेलाई केही कारबाही भयो कि भएन? प्रहरीले यो घटनाको अनुसन्धान गर्यो? हामीले यो प्रश्न नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरलाई सोध्यौं। ‘प्रहरीको गल्ती भए कारबाही गर्ने प्रक्रिया छ। हामीकहाँ रिपोर्ट आएपछि प्रहरीले गल्ती गरेको रहेछ भने कारबाही भइहाल्छ। तर, समाज नै विभाजित हुनेगरी यसरी अभिव्यक्ति दिन मिल्दैन। यो विषय हाम्रो नोटिसमा छ’, एसएसपी कुँवरले भने।
प्रहरी प्रवक्ताको यो भनाइले उनीहरुमाथि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि नबढाइएको देखाउँछ। हामीले यस विषयमा ज्वालासँग पनि सम्पर्क गर्यौं। सुरुमा यसबारे बोल्न नचाहेकी उनले भनिन्, 'यस विषयमा मलाई केही थाहा छैन, म केही बोलेकी पनि छैन। जसले भिडियो ल्यायो उसैलाई सोध्नुस्। म राहत बाँड्ने काममा व्यस्त छु।' उनले थपिन्- 'हाम्रा कुरामा चित्त नबुझे मुद्दा हाल्न सकिन्छ, मुद्दा हाल्दा हुन्छ नि।'
यो समाचार नेपाललाईभ अनलाईनमा प्रकाशित छ ।
समाचारको अरिजिनल लिँकः ‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत् (nepallive.com)
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…