प्रमुखको ईसारामा अधिकृतले लेखापाललाई कुटे
विनय कुमार यादव || जनकपुरधाम, २४ फागुन । धनुषामा एक कार्यालयका अधिकृतले कार्यालयकै लेखापाललाई कार्यालयमै ढोका बन्दी गरी कुटपिट गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका क्षयरोग तथा कुष्ठरोग फाँटका अधिकृत रामगुलाम कर्ण ले लेखापाल महेन्द्र साह लाई कुटपिट गरेको कुरा बाहिर आएको छ । साहलाई कुटपिट स

२०७४ फागुन २४ बिहीबार, बेलुकी ५:११ बजे४ मिनेट पढाइ

विनय कुमार यादव ||
जनकपुरधाम, २४ फागुन । धनुषामा एक कार्यालयका अधिकृतले कार्यालयकै लेखापाललाई कार्यालयमै ढोका बन्दी गरी कुटपिट गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका क्षयरोग तथा कुष्ठरोग फाँटका अधिकृत रामगुलाम कर्णले लेखापाल महेन्द्र साहलाई कुटपिट गरेको कुरा बाहिर आएको छ ।
साहलाई कुटपिट सहित गाली बेइज्जती तथा दुरव्यहार समेत गरेका हुन् । अनियमित खर्चको भुक्तानी निकासा नगरिदिँदा अधिकृत कर्णले कार्यालय प्रमुख देवको मिलेमतोमा आफूलाई कुटपिट गरेको साहको आरोप छ ।
‘२० गते कुष्ठरोग फाँटका अधिकृत कर्णले २ लाख रुपैयाँ जतिको बिल पेश गरे । तर, बिलमा अनियमितता देखेपछि आफूले अनियमितता भएको भनेर टिप्पणी आदेश उठाएर सदर गराउन कार्यालय प्रमुख देव कहाँ पठाउँदा देवकै मिलेमतोमा कर्णले ढोका बन्द गरेर कुटपिट गर्नुका साथै गाली बेइज्जती गरे’ साहले एक रेडियो कार्यक्रममा कुराकानी गर्दै भने ।
'धनुषाको ढल्केवरबाट महेन्द्रनगरसम्मको दूरीमा सार्वजनिक यातायात बापत एक जनालाई बढीमा २० रुपैयाँसम्म भाडा लाग्दछ । तर, कर्णले प्रति व्यक्ति ३ सय रुपैयाँ भाडा देखाएर निकासा माग गर्दा दाबी बढी भयो, कर्णद्वारा माग गरिएको दावी गलत हो भनेर सदर गराउन कार्यालय प्रमुख देव कहाँ टिप्पणी पेश गर्दा आफूलाई ढोका थुनेर गाली गर्दै कुटपिट गरेको साहले रेडियो कार्यक्रममा भने ।
त्यसपछि कार्यालयमा प्रहरी बोलाइयो र हामी आफैंमा विवाद सल्टयाउँछौं भनेर कार्यालय प्रमुखले भनेपछि प्रहरी फिर्ता गएको थियो । तर, २१ गते कार्यालय प्रमुख देवले शाहलाई कुटपिट गर्ने कर्मचारी कर्णलाई विभागिय कारवाही नगरी उल्टै तपाईलाई कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषामा फिर्ता पठाइएको छ भनेर पत्र थमाए ।
आफूमाथि अन्याय भएको र कार्यालय प्रमुखबाट न्याय प्राप्ति नभएका कारण २३ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हातपात र गर्ने कर्ण र गराउने कार्यालय प्रमुख सच्चिदानन्द देवलाई कारवाही गरी पाऊँ भन्दै साहले निवेदन दर्ता गराएका छन् ।
आवश्यक छानविन गरी दोषी कर्मचारीलाई कारवाही गर्छु भनेर धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले आफूलाई आश्वासन दिएको साहले बताए ।
यस सन्दर्भमा के भएको हो भनेर कार्यालयका कार्यालय प्रमुख देव र अधिकृत कर्णसँग बुझ्नका लागि लोकान्तरले सम्पर्क गर्न खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन ।
व्यापक भ्रष्टाचार र अनियमितता
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा भ्रष्टाचार र अनियमितताको अखाडा बनेको छ । जिल्लामै सबैभन्दा वढी भ्रष्टाचार हुने कार्यालय जिल्ला जनस्वास्थ्य कार्यालय भएको उक्त कार्यालयका कार्यरत एक कर्मचारीले बताए ।
जिल्लाको १५ किलोमिटर भित्रमा टिएडिए कुनै पनि कर्मचारीले खान नपाउने तर खाजाको लागि प्रति दिन ४ सय रुपैयाँको खाजा भत्ता व्यवस्था गरिएको छ ।
तर, कार्यालय प्रमुख देव आफैं कार्यालयमा हाजिर भएको दिन पनि टिएडिए भत्ता बापत १६ सय रुपैयाँ लिँदै आईरहेका छन्, ती कर्मचारीले आफ्नो नाम नलेख्ने सर्तमा भने,‘ नक्कली बिल भरपाई बनाएर लाखौं रुपैयाँ अनियमितता हुने गर्छ ।
जस्तै धनुषाको कुनै ग्रामिण क्षेत्र दुवरकोटमा कुनै कार्यक्रम भयो भने जनकपुरकै विल पेश हुन्छ । र, लाखौं रुपैयाँ हिनामिना हुने गर्छ ।’ यतिसम्म कि नक्कली पान नम्बर सहितको फर्जी बिल पनि पेश हुने गर्दछ, ती कर्मचारीको दाबी थियो ।
गाडी भाडामा अनियमितता
जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख तथा अधिकृतहरु गाडी भाडा बापत पनि हजारौं रुपैयाँ अनियमितता गर्ने गर्छन् । हेटौडा जाँदा एक दिनमा गएर फर्किने अवस्था हुन्छ ।
एक दिनमा फर्किन्छन् पनि । तर, बिल पेश गर्दा ७ देखि ८ हजार रुपैयाँ प्रति दिनको गाडी भाडा भन्दै एक दिनको ठाउँमा तीन दिन सम्मको बिल पेश गर्ने गरिन्छ ।
सम्झौता अनुसार प्रति दिन ६ हजार पाँच सय रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । तर, ८ हजार रुपैयाँसम्म भाडा लिने गरिएको छ । यसका अतिरिक्त लोड अनलोडको नाममा १५ सय देखि १६ सय रुपैयाँसम्मको बिल लिने गरिन्छ ।
औषधि खरिदमा व्यापक अनियमितता
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले प्रति वर्ष औषधि खरिदको नाममा समेत लाखौं रुपैयाँको हिनामिना गर्ने गर्छ ।
एक कर्मचारीका अनुसार गत वर्ष मात्रै खरिद गरिएको ९५ लाख रुपैयाँको औषधिमा समेत व्यापक हिनामिना भएको छ ।
टेन्डर गरेर सस्तो दरमा औषधि किन्नुको साटो १० प्रतिशत कमिशन लिएर प्रत्यक्ष आपूर्तिकर्ता मार्फत गुणस्तरहीन औषधि खरिद गरेर कार्यालय प्रमुख देवले लाखौ रुपैयाँ हिनामिना गरेका छन् ।
अहिले पनि २५ लाख रुपैयाँको औषधि खरिद गर्नका लागि अख्तियारी आएको छ तर कार्यालय प्रमुख देवले टेन्डर आह्वान नगरी कमिशनका लागि सिधा आपूर्तिकर्तालाई प्रक्रिया नै पूरा नगरी दिन खोजेको ती कर्मचारीको भनाइ छ ।
डिजल पेट्रोलको नाममा हिनामिना
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा खोप सेवा संचालन गर्नका लागि किर्लोशकर जेनेरेटर राखिएको छ ।
लोडसेडिङ भएको बेला वा विद्युत आपूर्ति नभएको बेला जेनेरेटर संचालन गरी खोपका भ्याक्सिन दिनका लागि ३÷४ बर्ष अघि जेनेरेटर किनिएको थियो । तर, जेनेरेटर संचालन नै नभई डिजल र मोविलको नाममा कार्यालय प्रमुख देवले हजारौं रुपैयाँ हिनामिना गर्दै आएका छन् ।
आर्थिक बर्ष २०७३ / ०७४ मा १ बर्षको अवधिमा जम्मा ३ घण्टा मात्र जेनेरेटर चलेको थियो ।
तर, त्यो बर्षमा करिब ५ सय ३५ लिटर डिजल र ३३ लिटर मोविल खर्च भएको भन्दै ६६ हजार ३ सय रुपैयाँ कार्यालय प्रमुख देवले भ्रष्टाचार गरेको एक कर्मचारीले बताए ।
९० रुपैयाँ प्रति लिटर डिजल र ५ सय ५० रुपैयाँ प्रति लिटर मोविलको निकासा गरेर प्रमुख देवले अनियमितता गरेको ति कर्मचारीको दाबी छ ।
खोप सुपरभाईजर अधिकृत हरिनारायण मिश्रले सिफारिस गरेको, कोल्ड रुम चेन असिस्टेन्ट बालेश्वर यादवले पेश गरेको तथा जिल्ला जनस्वास्थ्य अधिकृत सच्चिदानन्द देवले स्वीकृत गरेको लगबुकबाट हजारौं निकासा गरी भ्रष्टाचार गरेको छ ।
#पत्रकार अजय अनुरागी र लोकान्तरको सहयोगमा
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…