मधेशमा आज बट–साबित्री पर्व मनाइदै
सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

२०७८ जेठ २७ बिहीबार, बिहान ९:२८ बजे२ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् ।
यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।
यसपालि कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण कसैकसैले घरमै पर्व मनाइरहेका छन् भने कसैले नजिकैको बरका रुखमुनि पूजा गरिरहेका छन् । अन्य वर्ष बरका रुखमुनि घुइँचो लाग्ने गरेपनि यसपालि भने त्यति भीडभाड देखिएको छैन ।
धार्मिकग्रन्थ स्कन्धपुराणमा उल्लेख गरिएअनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्षअर्थात बरको रुखमुनिमै बसेर सो पर्व मनाउने गरिन्छ ।
यस पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ ।
गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।
किन मनाइन्छ बट–साबित्री अर्थात बरसाईत पर्व ?
मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सकेनन् । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराइन् । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरु यतिखेर जंगलमा बस्ने गरेको, सावित्रीले जानकारी गराइन् ।
यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उनीसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।
तत्पश्चात निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमत्ताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गरिन् ।
सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…