स्कूलका हेडमास्टरलाई स्थानीयहरुद्धारा हातपात
विद्यालयमा आयोजना गरिएको शिलान्यास कार्यक्रमको क्रममै उनलाई हातपात गरिएको हो ।

२०७८ जेठ २६ बुधबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) लाई स्थानीयहरुद्धारा हातपात गरेको छ ।
सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १० स्थित रहेको निम्न माध्यमिक विद्यालय नरहैया सुन्दरपुरका प्रधानाध्यापक अशेश्वर महतोलाई स्थानीयहरुले बुधबार विहान हातपात गरेको हो ।
विगत ३ वर्षदेखिको हरहिसाब माग्दै आउँदा आजभोली आलटाल गर्दै आएका हेडमास्टरलाई आज स्थानीयहरुले हातपात गरेको छ । विद्यालयमा आयोजना गरिएको शिलान्यास कार्यक्रमको क्रममै उनलाई हातपात गरिएको हो ।
वडा नम्बर १० का वडाध्यक्ष जुगलकिशोर कामती विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष रहेर विद्यालयको सम्पतिमा मोज गर्दै आएको आरोप लगाउँदै स्थानीयहरुले प्रधानाध्यापकसँग निरन्तर विद्यालयको हरहिसाब गर्न माग गरेको थियो ।
तर, वडाध्यक्ष कामति सहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका केही कर्मचारीहरुले हरहिसाब दिन आलटाल गरेपछि आज सार्वजनिक रुपमै स्थानीयहरुले हेडमास्टरलाई हातपात गरेको हो ।
“राष्ट्रपतिबाट सहयोग स्वरुप १८ लाख रुपैयाँको बजेट आएको थियो । विद्यालयको नयाँ भवन निर्माणको लागि बजेट आएर आज शिलान्यास कार्यक्रम राखिएको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल शिलान्यास गर्न आउनुभएको थियो । शिलान्यास गरी उहाँ गएपछि स्थानीयहरुले हेडमास्टर सरलाई हातपात गरयो ।”– एक स्थानीयले भने ।
यता, केही जनाले भने शिलान्यासको क्रममा समान्य विवाद हुँदा स्थानीय महिलाहरुलाई उक्साएर धक्कामुक्की गर्न लगाएको पनि बताइएको छ । महतोलाई हातपात नगरी धक्कामुक्की भएको बताइएको छ ।
केही जना विकास विरोधी र राजनीतिक हिसाबले आफैैँ नगएर केही महिलाहरुलाई भित्र पठाउँदै हेडमास्टरमाथि दुरव्यवहार गराउन लगाएको आरोप महतो पक्षले लगाएको हो । त्यही रहेको प्रहरीले स्थानीयहरुलाई लखेटेर भगाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…