सिरहाको राजदेवी मन्दिर वरिपरी सयौं पशुपँक्षीको बली
वुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भएपनि राजदेवी माताले त्यसदिनमात्र बली लिने भएकाले वाध्यता भएको ज्ञाताहरु बताउँछन् ।

२०७८ जेठ १२ बुधबार, राति ८:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा जिल्लास्थित रहेको राजदेवी मन्दिर वरिपरि बुद्धजयन्तीकै दिन हजारौ पशुपँक्षीको बली चढाइएको छ । सिरहाको लहानस्थित राजदेवी पँचावति मन्दिरमा आज (बुधबार) पशुपँक्षी बली दिइएको हो ।
धार्मिक तथा पौराणिक महत्त्व बोकेका लहान–१७ ढोढनामा अवस्थित राजदेवी पञ्चावती मन्दिरमा बुधबार परेको बुद्धजयन्तीकै दिन हजारौं पशुपक्षी बली चढाइएको छ ।
बैशाख शुक्ल पूर्णिमाका दिन ठूलो भिडसहित मेला समेत लाग्ने राजदेवी मन्दिरमा यसपाली कोरोना भाइरसको कारण देखाउँदै प्रशासनले मेला लाग्न नदिएपनि बली प्रदान भने भएको बताइएको छ । यसपाली मन्दिर भित्र बलि प्रदान नगरिएपनि मन्दिरको वरिपरि नै पशुपँक्षीको बली दिइएको हो ।
मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउँन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं बिराटनगर लगायत भारतको विभिन्न ठाउँबाट आउने हजारौं श्रद्धालुहरु यसपाली आउन भने पाएनन् । स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण मन्दिरसम्म भाकल बमोजिम भाकल चढाउन नआएको हो ।
तरपनि, स्थानीय स्तर र जिल्लाकै विभिन्न ठाउँबाट भएपनि अधिक सँख्यामा पशुपँक्षी बली प्रदान कार्यक्रम गरिएको हो । सर्वसाधारणहरुलाई प्रहरीले लखेटेर भगाएपनि मन्दिर भित्र पुजारीले सर्वसाधारणले ल्याएको चढावा चढाएको थियो । यद्यपी, अन्य वर्षको तुलनामा यसपाली करिब २० प्रतिशत मात्र बली प्रदान गरिएको मन्दिरका एक पुजारीले बताए ।
सन्तान प्राप्ती, रोग नाश, कार्यसफलताका लागि भक्तजनहरुले लहान बजारदेखि नौ किलो मिटर उत्तरमा ३ विगाहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, हांस, परेवा र कुखुरा बलि चढाउने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी (पाठो) बली चढाउँने चलन छ ।
स्थानीयवासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो । गढिमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ ।
आज शान्तिको सन्देश प्रचार गर्दै २५६४ औं वुद्धजयन्ती मुलुकभर मनाइरहेको बेला अहिंसाको सन्देश बोकेको पूर्णिमा भएपनि वर्षमा एकदिन मात्र बलि चढाउंने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनहरुले पशु र पंक्षी बली दिने गरेको छ ।
दश पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जङगली जनावरहरुले दुख दिन थालेपछि धामीलाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरि पूर्णिमाको दिन बली दिन भनेअनुसार यहाँ बली दिने परम्परा रहेको हो ।
गत वर्ष मात्र करिब २० हजारको हाराहारीमा पशुपँक्षी चढाइएपनि यसपाली कोरोना भाइरसको प्रकोप र प्रशासनको निषेधाज्ञाका कारण त्यसको २० प्रतिशत मात्र बलि प्रदान भएको हो ।
पूर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी ”पुर्णिमा” का दिन एक दिनमात्र ”बली” दिइने पौराणिक चलन भएको बताउछन् ।
वुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भएपनि राजदेवी माताले त्यसदिनमात्र बली लिने भएकाले वाध्यता भएको ज्ञाताहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…