जनकपुरका यी तीन सहित सात नक्कली सर्टिफिकेटधारी डाक्टरहरु पक्राउ, को कहाँ थिए कार्यरत ?
उनीहरु उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको

२०७८ बैशाख ६ सोमबार, बेलुकी ५:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ७ जना नक्कली प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गरेको छ । सो सँगै एक जना कन्सलटेन्सी सञ्चालकलाई समेत पक्राउ गरेको हो ।
सिआइबीले महाराजगञ्जस्थित कार्यालयमा उनीहरुलाई सार्वजनिक गरेको हो। देशका विभिन्न अस्पतालमा कार्यरत उनीहरुलाई सिआइबीको टोलीले पक्राउ गरेको हो।
जसमा प्रदेश नम्बर २ को ४ जना सहित जनकपुर क्षेत्रकै ३ जना नक्कली सर्टिफिकेट भएका डाक्टरहरु रहेको जनाइएको छ । उनीहरुसँग डाक्टरको नक्कली सर्टिफिकेट पाइएको जनाइएको छ ।
जसमा जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको सबैला नगरपालिका वडा नम्बर ५ बस्ने तथा हाल ललितपुर उपमहानगरपालिका २ महालक्ष्मीस्थित घर भई बस्दै आएका मो. शाहिद राजा, महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं.२ आदर्श बस्ती बस्ने बर्ष २७ की पल्लवी सिँह, महोत्तरीकै सरपल्लो वडा नं. ६ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ जिरोमाईल बस्ने २९ बर्षिय सुभाष प्रसाद साह रहेका छन् ।
यस्तै, पक्राउ पर्नेमा सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ छन्।
सोही क्रममा मनाङ साविक चामे गाविस वडा नम्बर ५ बस्ने दिपेन्द्र गौतम पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जनाएको छ ।
पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको लागि एसएलसिको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिई आफ्नो ब्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।
उनीहरु उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।
पक्राउ परेका अरु कहाँ कार्यरत थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…