प्रदेश २ः बोक्सी (डायन) भन्दै एकल महिलालाई सामुहिक कुटपिट, प्रशासन निन्द्रामा (भिडियो)
बोक्सी भन्दै कुटपिट गरेकाहरुलाई एक राज्यमन्त्रीले सपोर्ट गरी प्रहरीलाई समेत दबाब दिएर आरोपित बचाउन खोजेको आरोप लगाइएको छ ।

२०७८ बैशाख ६ सोमबार, बिहान १०:०७ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको महोत्तरी जिल्लामा एक वृद्धलाई बोक्सी Boksi भन्दै सामुहिक रुपमा कुटपिट गरिएको छ ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर ७ धोबी टोल बस्ने बर्ष ७५ की सोनाबति देवी बैठालाई सोही ठाउँ बस्ने केही जनाले बोक्सी Dayan को आरोप लगाउँदै निर्घात कुटपिट गरेको भन्दै प्रहरीमा जोहरी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीमा एकल महिला सोनाबति देवी बैठा (श्रीमानको निधन भइसकेको) लाई बोक्सी (डायन) भन्दै मौका छोपेर कुटपिट गरिएको हो । उनलाई विगत एक बर्षदेखि बोक्सी–बोक्सी भन्दै आएको र गत चैत्त २९ गते निर्घात कुटपिट गरिएको जाहेरीमा उल्लेख छ ।
पीडित बैठाको घरसँगै रहेको स्थानीय राम सुलिन्दर बैठाको परिवारले सोनाबत्ति देवीलाई बोक्सी भन्दै कुटपिट गरेको हो । (यसको भिडियो पनि छ) राम सुलिन्दर बैठाकी श्रीमति बर्ष ४० की जिबु भन्ने जिबो देवी, रामजिनिस बैठाको छोरा बर्ष २७ को राम सुलिन्दर बैठा, मोसाफिर धोबीका छोरा बर्ष ५५ का राम जिनिस बैठा र उनकी श्रीमति बर्ष ४८ की कुन्तीदेवीले मिलेर उनलाई कुटपिट गरेको हो ।
रामजिनिस सहित उनका बुहारी, छोरा र श्रीमति गरी चारै जना मिलेर सोनाबति देवी बैठालाई बोक्सी भन्दै कुटपिट गरेको हो । गत चैत्त २९ गते दिउँसो करिब ५ः३० बजेको समयमा उनलाई कुटपिट गरी टाउको फुटाइदिएको पीडितका छोरा उपेन्द्र बैठाले जाहेरीमा उल्लेख गरेका छन् ।
पीडित सोनाबति देवी आफ्नो घर आईरहेको समयमा जिबो देवीले आफ्नो एक्लो छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै ज्यानै मार्ने उदेश्यले प्रहार गरेको आरोप लगाउँदै जाहेरी दिएको हो ।
सोनाबत्तिलाई चारै जना लठ्ठी सहित हात र मुक्का सहित काठको चिरपटले टाउकोमा हिर्काउँदा उनको टाउको फुटेको बताइएको छ । उनको उपचार अहिले जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ ।
वडा नम्बर ७ का वडाध्यक्ष सोनेलाल साहले पीडक भनिएको राम जिनिस बैठाक पक्षले यसअघि पनि बारम्बार बोक्सी भन्दै गाली गलौज गरेको र वडाध्यक्ष कहाँ नै उनलाई मानव मलमत्रु (गुँ) खुवाउने योजना बनाएको सुनाएका थिए ।
एक झाँक्रीलाई उदृत गर्दै उनीहरुले एकल महिला सोनाबत्ति देवीलाई नछाडने भनेर धम्की समेत वडाध्यक्ष साहकै अगाडी गएर दिएका थिए । वडाध्यक्ष साहले उनलाई सम्झाएपनि उनीहरुले निर्घात कुटपिट गरेको वडाध्यक्ष साहको भनाई छ ।
यता, गत चैत्त ३० गते नै प्रहरीमा जाहेरी दिएपनि अहिलेसम्म आरोपितहरुलाई प्रहरीले पक्राउ गर्न सकेका छैनन् । पीडक पक्ष भनिएकोलाई प्रदेश नम्बर २ का एक राज्यमन्त्रीले स्वयँम सघाउने गरेको आरोप लगाइएको छ ।
बोक्सी भन्दै कुटपिट गरेकाहरुलाई एक राज्यमन्त्रीले सपोर्ट गरी प्रहरीलाई समेत दबाब दिएर आरोपित बचाउन खोजेको आरोप लगाइएको छ ।
घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले अनुसन्धान गरिरहेको बताएका छन् । जाहेरी परेको भन्दै उनले दोषी देखिए पक्राउ गर्ने नदेखिए नगर्ने प्रतिक्रिया दिएका छन् ।
उनले भने,–“यसमा दुई थरीका कुरा छन्, भित्री कुरा अर्को पनि छ, अहिले अनुसन्धानको क्रममा रहेकोले भन्न मिल्देन् ।” भिडियो सार्वजनिकको सन्दर्भमा उनले “तपाईले एकतर्फा भिडियो मात्र हेर्नुभएको होला” भनेर भने ।
परिच्छेद–३ बोक्सीका आरोप सम्बन्धी कसूरका सूचना तथा पीडितका संरक्षण अन्तर्गत दफा ३ को उपदफा (१) बमोजिम दरखास्त वा सूचना प्राप्त हुन आएमा प्रहरी कार्यालयले चौबीस घण्टाभित्र पीडकलाई झिकाई वा पक्राउ गरी प्रचलित कानून बमोजिम अनुसन्धान तथा तहकिकात गर्नु पर्ने कानुन छ ।
गत शनिबार प्रदेश नम्बर २ कै सिरहा जिल्लास्थित एक महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाएको घटना बाहिर आएपछि आरोपितलाई प्रहरीले केही घण्टामै पक्राउ गरेको हो ।
सोनाबत्ति देवी घटनाको ९ दिन भएपनि अहिलेसम्म महोत्तरी प्रहरीले कसैलाई पक्राउ भने गरेको छैनन् ।
बोक्सी Boksi को आरोप (कसुर र सजाय) सम्बन्धी ऐनमा बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली वेइज्यती गर्ने, बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्य प्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने, धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाँउमा घुमाउने वा कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा बोक्सीको आरोपमा अंगभंग गर्ने कसुर साबित भएको खण्डमा ५ बर्षदेखि ८ बर्षसम्मको जेल सजाय सहित ५० हजारदेखि १ लाखसम्मको जरिवाना उल्लेख छ ।
बोक्सी Boksi को आरोपमा अँगभँग भएको खण्डमा थप १० प्रतिशत सजाय थपिन जाने ऐनमा उल्लेख छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…