डायन भन्दै महिलालाई मलमुत्र खुवाइयो, 'यादव' बने दलाल, आरोपित पक्राउ
कानुन अनुसार, उनलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

२०७८ बैशाख ५ आइतबार, राति ९:३५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा जिल्लास्थित एक महिलालाई डायन (बोक्सी) भन्दै एक महिलालाई मलमुत्र खुवाएको घटना बाहिर आएको छ ।
सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ५० की हीरा देवी साहलाई बोक्सी (डायन) आरोपमा निर्घात कुटपिट गर्दै मलमूत्र खुवाइएको घटना बाहिर आएको हो ।
साहलाई उनकै जेठाजुका छोरा र बुहारीले अमानवीय व्यवहार गरी कुटपिट गरेको हो । साहलाई उनकै जाउत (जेठाजुको छोरा) र बुहारीले मिलेर मानव मलमुत्र खुवाएको घटना बाहिर आएको हो ।
शनिबार बिहानै साहलाई दुवै जनाले सडकमा घिसार्दै मलमुत्र खुवाएको हो । भतिज घुरन साहले हात समातेर भुइँमा लडाएको र बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र खुवाएको उनले बताइन् ।
गत बैशाख २ गते तराई मधेशमा मनाइने जुडशीतल पर्वको दिन आफूभन्दा कान्छोकान्छीलाई पानीले जुडाउने (शितलता प्रदान गर्ने) परम्परा बमोजिम सो दिन हीरादेवी जेठाजुका छोराबुहारीलाई पानी बोकेर आशीर्वाद दिन उनीहरूको घर पुगेकी थिइन् ।
हिरादेवीले पानी छर्कने क्रममा घुरनको घरमा रहेको गाईमाथि पनि पानी परेको र त्यसकै कारण शनिबार गाईको मृत्यु भएपछि टुना गरेर गाई मारेको भन्दै साहसँग अमानवीय व्यवहार गरिएको हो। गाई मरेको देखेपछि भतिज र बुहारीहरूले तथानाम गाली गर्न थालेको र सडकमा घिसार्दै कुटपिट गर्न थालेको पीडितले बताइन् ।
घुरनले पाखुरा र हात समातेर भुइँमा लडाएको र बुहारीहरूले जबर्जस्ती मलमूत्र खुवाएको उनको भनाइ छ । उनीमाथि अमानवीय व्यवहार भइरहँदा पनि स्थानीयहरुले केही बोलेनन् ।
हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । उनीमाथि कुटपिट हुँदा दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा थिइन् । उनले आमालाई बचाउने प्रयास त गरिन्, तर केही चलेन । पीडित हीरादेवीले दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छिन् ।
पीडितलाई मिलाउन 'यादव' बने दलाल
डायन भन्दै मलमुत्र खुवाएपछि रुँदै प्रहरी कहाँ पुगेकी पीडित साहलाई स्थानीय श्रीदेव यादवले गाउँमै मिलापत्र गर्ने गरी उनलाई फर्काएर ल्याएको बताइएको छ । आफन्तबीचको घटना भएकाले प्रहरीमा जानुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको श्रीदेव यादवको कथन छ ।
बोक्सी आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा गाउँमै पञ्चायती गरेर मिलापत्र गराउने तयारी स्थानीय अगुवाको छ । प्रहरीमा नजान उनीहरूले पीडितलाई दबाब दिइरहेका छन् ।
बोक्सीको आरोप र कसुर सजाय ऐनको (२) को उपदफा (१) बमोजिम कसैले लिखित जाहेरी दरखास्त दिन ल्याएमा तुरुन्तै र मौखिक रुपमा सूचना दिएकोमा प्रहरी कार्यालयले निजको कुरा दरखास्तको रुपमा लेखी निजको सहीछाप गराई दर्ता गर्नु पर्ने प्रावधान रहेको छ ।
यता, प्रहरीले आईतबार साँझ बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाउने २९ वर्षीय घुरन साहलाई पक्राउ गरेको छ। उनले र उनकी श्रीमतिले मिलेर हिरादेवी साहलाई मलमुत्र खुवाएको आरोपमा पक्राउ परेका छन् ।
बोक्सीको आरोप र कसुर सजाय ऐनको परिच्छेद–२ को बोक्सीका आरोप सम्बन्धी कसूर अन्तर्गत बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली वेइज्यती गर्ने, धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाँउमा घुमाउने वा कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने पाईएमा ५ बर्षदेखि ८ बर्षसम्मको जेल सहित ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।
पीडिताका अनुसार उनलाई कुटपिट सहित मलमुत्र खुवाएको, टुनामुनाको आरोप लगाएको छ । कानुन अनुसार, उनलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…