जसपामा दुई धार छुट्टिदै, साँसदहरुको हिसाबकिताब सुरु
सांसद नरमाया ढकालले आफू ठाकुरको पक्षमा रहेको सार्वजनिक रुपमै बताएकी छन् ।जसपाका एक नेताले बताए अनुसार पार्टीभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगिसकेको छ ।

२०७८ बैशाख ५ आइतबार, बिहान ८:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक ध्रुविकरण करण शुरु भएको छ ।
खासगरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपामा दुई स्पष्ट धार देखा परेका छन् ।
पार्टीमा विवाद उत्कर्षमा पुग्दै जाँदा दुवै पक्षले आफ्नो पक्षमा लाग्ने सांसदको हिसाब किताब गर्न थालेका छन् । प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् । २ सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेकोले हाल ३२ जना बाँकी छन् ।
जनता समाजवादी पार्टीको एकता अघिको राष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र तत्कालिन समाजवादी पार्टीबाट निर्वाचित १६ जना सांसद संघीय संसदमा छन्।
पार्टीभित्र विवाद चुलिँदै जाँदा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका नेता उपेन्द्र यादवलाई र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका नेता महन्थ ठाकुरलाई साथ दिने देखिएको छ ।
जसपामा प्रधानमन्त्री केपी शर्माओली र उनको सरकारसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले गर्दै आउनुभएको छ । त्यस्तै, कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गर्नुभएको छ ।
पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादव, जसपा संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव र लिला सिटौलालगायतले यादवलाई साथ दिएका छन्।
जसपामा रेणु यादव, इस्तियाक राई र प्रदीप यादवलगायतका केही सांसदको छुट्टै समूह पनि सक्रिय रहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसमाजवादी पार्टीका नेताहरुको समूह भएपनि यि नेताहरु उपेन्द्र यादवको पक्षमा खुलिसकेका छैनन् । राईले आफू पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा उभिएको बताउने गरेका छन् ।
पूर्वसमाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशँकर अडगरिया, रुहीनाज र विमल श्रीवास्तवले पनि पार्टीका माग पूरा गरे ओलीसँग मिल्न सकिने धारणा राख्ने गरेका छन् ।
पूर्वसमाजवादीका समानुपातिक सांसद रेनुका गुरुङ नेता अशोक राईसँग निकट भएकाले उनले यादवलाई साथ दिने देखिन्छ । यसरी जसपाभित्रको अंकगणित हेर्दा पूर्वराजपाका १६ सांसदमध्ये १५ जना ठाकुरलाई साथ दिन तयार भएको देखिन्छ ।
सांसद नरमाया ढकालले आफू ठाकुरको पक्षमा रहेको सार्वजनिक रुपमै बताएकी छन् ।जसपाका एक नेताले बताए अनुसार पार्टीभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगिसकेको छ ।
कतिसम्म भने प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादव जाँदैनन् र कांग्रेस र माओवादीसँगको छलफलमा जान ठाकुर र अर्का नेता राजेन्द्र महतो रुचाउँदैनन् ।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ भन्ने स्पष्ट लाइनमा भट्टराई र यादव उभिएका छन्। तर ठाकुर र महतो ओली सरकारले माग पुरा गर्ने देखिएकाले सरकारविरुद्ध उभिन नसकिने बताउँदै आएका छन् ।
आजको जनकपुरटुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…