नारायणगढ–मुग्लिन सडकमा पुल चौडा गरिने
सरकारले नागढुङ्गाबाट मग्लिन सडक पनि विस्तार गर्ने योजना बनाएको छ । सो खण्डमा सडक एशियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुनेछ ।

२०७७ चैत ३१ मंगलबार, राति १०:१९ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, चितवन । पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ । झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो ।
हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ । पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । निर्माण भइरहेकामध्ये सबैभन्दा लामो पुल सिद्धिदोभानको पुल रहेको छ ।
त्यसको लम्बाई ६५ मिटर छ । यो आवमा सेतीदोभान, खहरे खोला, जलबिरेलगायत पुल सकिने देखिएको आयोजनाले जनाएको छ । सो खण्डमा सडकको कालोपत्र गत वर्ष सम्पन्न भएको थियो ।
सो खण्ड आयोजनाले गत वर्ष भरतपुर डिभिजनलाई हस्तान्तरण गरेको थियो । यी पुलको काम दुई वटा ठेक्कामा भइरहेको प्रमुख रिमालले जानकारी दिनुभयो । तीन वर्ष पहिले पुल निर्माण शुरु भएको थियो । उहाँले भन्नुभयो, “सबै पुल अबको दुई वर्षमा सकिने गरी काम भइरहेको छ ।”
मुग्लिनबाट नारायणगढतर्फ लाग्दा केही अगाडि तीन पुल निर्माण गर्नुपर्ने भए पनि कठीन भूगोलका कारण निर्माण गर्न अप्ठेरो भएको प्रमुख रिमालले बताउनुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…